सुचना, समाचार र मनोरन्जन

आयुश निलिमाको व्यवसायिक फड्को, स्टेशन पछि मार्फा थकाली

मन्दीका बेलामा पनि दुई करोड लगानी गरेर आयुश निलिमाले समस्याबाट नभागी समस्यासँग जुधेर नै व्यवसायिक सफलता हासिल गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गरेका छन् ।

सन्तोष बस्याल
पोखरा ।

पोखराको नाम चलेको रेष्टुरेण्ट हो “स्टेशन द फुड क्लब एण्ड ससेज पार्क” । अक्सर युवायुवतीको रोजाईमा पर्छ उक्त रेष्टुरेण्ट । गैह्रापाटनमा अवस्थित रेष्टुरेण्टका संचालक हुन् आयुश श्रेष्ठ, निलिमा हिराचन श्रेष्ठ । संचारकर्म हुँदै व्यवसायमा हात हालेका आयुशको सफलता चाख लाग्दो छ । सडकको पेटीबाट सुरु गरेको व्यवसायले आज विस्तार रुप लिँदा उनको आँखामा खुशीको आँशु बहन्छ ।

आयुश नथाक्ने लामो रेसका घोडा हुन् । व्यवसायमा उनलाई सफलता यत्तिकै मिलेको हैन । निरन्तरको अथक मिहिनत र परिश्रम सँगै समय खर्चेका छन् । गरे के हुँदैन सबै सम्भव छ भन्ने विषयको गतिलो उदाहरण हुन् आयुश । जसमा निलिमाको समेत साथ छ । स्टेशन फूडको अपार सफलता पश्चात आयुश निलिमाले “मार्फा थकाली बाइ स्टेशन” नाम दिएर व्यवसायको नयाँ यात्रा शुभारम्भ गरेका छन् ।

नेपालीहरुको महान पर्व विजयादशमीको घटस्थापना दिनदेखि संचालनमा आउने मार्फा थकाली ग्राहकमाझ स्वाद पस्केर मन जित्ने उद्देश्यले संचालनमा ल्याइएको हो । पोखराको डिहिकोपाटन लेकसाइडमा रहेको मार्फा थकाली आफ्नै भवनबाट संचालनमा आएको संचालक आयुश श्रेष्ठले जानकारी गराए । मन्दीका बेलामा पनि दुई करोड लगानी गरेर आयुश निलिमाले समस्याबाट नभागी समस्यासँग जुधेर नै व्यवसायिक सफलता हासिल गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गरेका छन् ।

मार्फा थकालीमा नाम मात्रैको थकाली नभई स्वाद सहितको थकाली खाना ग्राहकले खाना पाउनेछन् । मार्फामा नै उत्पादन भएको फापर, आलु र दालको स्वाद ग्राहकलाई उपलब्ध गराउने लक्ष्य छ । यसका अलावा पोखरा तथा यस आसपासका अर्गानिक खानेकुरा समेत पाइनेछ ।

ग्राहकको रोजाई अनुसारको खाना मार्फा थकालीमा पाइनेछ । आयुशका अनुसार जेठोबुढो, मार्सी लगायतको ग्राहककको माग अनुसारको खाना उप्लब्ध गराइनेछ । मात्र त्यसका लागि ग्राहकले आफुले रोजेको चामलको खाना खान ३० मिनेट कुर्नुपर्ने उनले बताए ।

मार्फा थकालीमा ग्राहकका लागि रेट पनि सस्तो नै राखिएको छ । बजारका अन्य थकाली रेष्टुरेण्ट भन्दा सुलभ दरमा खाना खान ग्राहकले पाउनेछन् । सादा थकाली खानाको ३ सय ५० रुपैयाँ, चिकेन थकाली खानाको ५ सय रुपैयाँ र मटन थकाली खानाको ६ सय रुपैयाँ तिर्नुपर्नेछ । थकाली खानासँगै थकाली ब्रेकफास्टको आइटम समेत उपलब्ध गराइने आयुशले जानकारी गराए । जसका लागि दुई सय रुपैयाँदेखि माथिको मुल्य निर्धारण गरिएको छ ।

एक पटकमा १ सय जना सम्मलाई खाना खुवाउन सक्ने क्षमता भएकाले भोक मेटाउने थलो मार्फा थकाली बन्न सक्ने विश्वास निलिमा हिराचन श्रेष्ठको छ । मार्फा थकालीमा १० जनाले रोजगार पाएका छन् । स्टेशन द फुड क्लब जत्तिकै सफलता मार्फा थकालीलाई मिल्नेमा उनीहरु आशावादी देखिन्छन् ।

Leave A Reply

Your email address will not be published.