काठमाडौँ/
पर्वतको मोदी गाउँपालिकामा रहेको ढुङ्गाखानी डेढ दशकदेखि बन्द रहेको छ । मोदी गाउँपालिकाको वडा–१ भुकताङ्ले, वडा–३ देउराली र वडा–४ क्याङको सिमानामा पर्ने धौलागिरि क्षेत्रकै ठूलो ढुङ्गाखानी विगत १६ वर्षदेखि बन्द छ । देउराली, क्याङ र भुकताङ्का बासिन्दाले खानी आ–आफ्नो क्षेत्रभित्र पर्ने भन्दै दाबी गरेपछि २०६४ सालदेखि खानी बन्द भएको थियो । साविकका गाविस भए पनि अहिले ती क्षेत्र मोदी गाउँपालिकाभित्र पर्छन् ।
खानीबाट निकालिएका ढुङ्गा तत्कालिन धौलागिरि अञ्चलका पर्वत, बागलुङ, म्याग्दी जिल्लाका विभिन्न ठाउँमा खपत हुने गथ्र्यो । अहिले पनि ढुङ्गाबाट घर÷गोठ छाउन, बिच्छ्याउन र स्लेटका रुपमा प्रयोग गर्न ढुङ्गाको माग हुन्छ । तर खानी सञ्चालन हुन सकेको छैन । विभिन्न ठाउँबाट ढुङ्गको माग हुने गरेको तर खानी सञ्चालनमा नहुँदा समस्या छ । लामो समयदेखि बन्द ढुङ्गाखानी सञ्चालन गर्न स्थानीयबासिन्दाले माग गर्दै आएका छन् ।
तत्कालीन समयमा खानीमाथि सबैले आ–आफ्नै दाबी गर्दै आपसमा झगडा गर्न थालेपछि बन्द गरिएको क्याङ गाविसका पूर्व अध्यक्ष नरसिंह पुनले बताए । ठूलाछाप सामुदायिक वनमा पर्ने खानी समुदायमा हस्तान्तरण गरेपनि तत्कालीन जिल्ला वन कार्यालयले विवाद अन्त्य गर्न यो वनलाई राष्ट्रियकरण गरेको थियो ।
मोदी गाउँपालिकाका अध्यक्ष हीरादेवी शर्माले खानी सञ्चालन गर्न पहल भैरहेको बताउनुभएको छ । शुरुमा खानीसम्म सडकको पहुँच पु¥याउने योजना रहेको र सडक पुगेपछि खानी सञ्चालन गर्न डिभिजन वन कार्यालयलगायत सम्बन्धित निकायसँग समन्वय गरी अगाडि बढ्ने उनको भनाइ छ ।