सुचना, समाचार र मनोरन्जन
Sarangi

वडावासीलाई पाठेघर र स्तन क्यान्सर परीक्षण

स्वास्थ्य शिविर र सचेतना कार्यक्रमअन्तर्गत शिविरमा ३० वर्षभन्दा माथिका महिलाहरुले स्वास्थ्य परीक्षण गराएका थिए ।

पोखरा /

पाठेघर र स्तन क्यान्सरको परीक्षण सम्बन्धी कार्यक्रम आईतबार पोखरा–१२ स्थित वडा कार्यालयमा सम्पन्न भएको छ ।

पोखरा महानगरपालिका वडा नं. १२ र नेपाल नर्सिङ संघ कास्कीको संयुक्त आयोजनामा कार्यक्रम भएको हो । स्वास्थ्य शिविर र सचेतना कार्यक्रमअन्तर्गत शिविरमा ३० वर्षभन्दा माथिका महिलाहरुले स्वास्थ्य परीक्षण गराएका थिए ।

वडा कार्यालय परिसरमा संचालित शिविरबाट वडावासी लाभान्वित भएको वडाध्यक्ष सन्तोष बास्तोलाले बताए । पछिल्लो समय महिलाहरुले परीक्षण गर्न लाज मान्ने तथा रोग लुकाएर बस्ने गरेको पाइएको र त्यस्ता महिलाहरुका लागि सहयोग पुगोस भन्ने उद्देस्यले पाठेघर र स्तन क्यान्सरको परीक्षण वडामै मिलाइएको कार्यालयले जनाएको छ ।

शिविरमा प्रोजेक्टर मार्फत सचेतना कार्यक्रम सम्बन्धित प्रस्तुति पुष्पा शर्मा र निरशोभा गुरुङले दिनुभएको थियो । स्थानीयको सहजताका लागि वडामै गरिएको स्वास्थ्य शिविरले स्थानीय लाभान्वित भएको नेपाल नर्सिङ संघ कास्कीका अध्यक्ष मुना सिलवालले बताए ।

नेपाल नर्सिङ संघको ६२ औं वार्षिकोत्सव अवसरमा कार्यक्रम गरिएको हो । पछिल्लो समय महिलाहरु उपचार गराउन लाज मान्ने, डराउने भएकाले पनि पाठेघरको समस्या बढ्दै गएको सो अवसरमा चर्चा गरियो । महिलाहरुको उपचारको लागि वडा कार्यालयले शिविर संचालन गरेर परीक्षणमा सघाउ पुगेको कार्यक्रम संचालिका शारदा शर्माले बताइन ।

अन्य वडाको तुलनामा यस वडाले विभिन्न स्वास्थ्य कार्यक्रम गरि उदाहरणीय बनेको स्वास्थ्य स्वयंसेविका संयोजक इन्दिरा पन्तले बताइन । यस्ता खालका स्वास्थ्य शिविर कार्यक्रमले वडावासी दिदिबहिनीहरुमा सहयोग पुग्ने शहरी स्वास्थ्य केन्द्रका प्रमुख सिर्जना थापाले बताइन ।

शिविरमा शहरी स्वास्थ्य केन्द्रका कर्मचारीहरु र स्वास्थ्य स्वयंसेविहरुले सहजीकरण गरेका थिए । यस्ता खालका शिविर समयसमयमा संचालन गर्न सके न्युनीकरणमा सहयोग पुग्ने वडा सचिव महेश्वर अर्यालले स्पष्ट पारे ।

Leave A Reply

Your email address will not be published.