सुचना, समाचार र मनोरन्जन

पोखरामा माघ २१ गतेदेखि अन्तर्राष्ट्रिय भेट्रान फुटबल

प्रतियोगिता यही माघ २१ देखि २७ गतेसम्म पोखराको बगरस्थित टुँडिखेल मैदानमा सञ्चालन हुने आयोजक संस्थाले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको हो।

पोखरा /

‘स्वास्थ्यका लागि एक घण्टा व्यायाम, नागरिकहरुका लागि नौलो आयाम’को नारासहित स्थापित बगर भाइ खलक पोखराले १३औँ संस्करणको ‘बगर भाइ खलक अन्तर्राष्ट्रिय भेट्रान एट ए साइड फुटबल’ प्रतियोगिताको तयारी गरेको छ ।

प्रतियोगिता यही माघ २१ देखि २७ गतेसम्म पोखराको बगरस्थित टुँडिखेल मैदानमा सञ्चालन हुने आयोजक संस्थाले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको हो।

संस्थाले समाजका प्रत्येक क्षेत्रका व्यक्तिलाई स्वास्थ्यप्रति जागरुक बनाइ आफ्नो स्वास्थ्यका लागि दिनमा कम्तीमा एक घण्टा व्यायाम गर्नुपर्दछ भन्ने सन्देशसहित प्रतियोगितालाई निरन्तरता दिएको बगर भाइ खलकका अध्यक्ष दिलबहादुर गुरुङले जानकारी दिए।

प्रतियोगितामा विदेशीसहित कुल ३६ टोलीको सहभागिता रहने बताइन्छ । अध्यक्ष गुरुङले भेट्रान खेलाडीलाई लक्षित गर्दै यस वर्षदेखि तीन विधामा प्रतियोगिता गर्न लागेको जानकारी दिनुभयो । यसपटक ४० वर्षमाथि, ५० वर्ष माथि र ६० वर्षमाथि गरी तीन उमेर समूहमा प्रतियोगिता सञ्चालन हुने बताइन्छ।

अध्यक्ष गुरुङले प्रतियोगिताको उद्देश्य युवा पिँढीलाई खेलकुदप्रति आकर्षित गर्नु रहेको बताए । अग्रजलाई सम्मान, समकालीनलाई व्यायाम र अनुजलाई खेल स्वास्थ्यप्रति जागरुक बनाउने उद्देश्यसहित संस्थाले गतिविधि अगाडि बढाएको अध्यक्ष गुरुङले बताए।

प्रतियोगिताको ४० वर्षमाथि उमेर समूहको विजेताले रु दुई लाख प्राप्त गर्नेछन् भने उपविजेताले रु एक लाख प्राप्त गर्नेछन्। सर्वोत्कृष्ट खेलाडीले रु १५ हजार तथा उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकले भने समान रु पाँच हजारका दरले नगद पुरस्कार पाउने आयोजक संस्थाका महासचिव याम गुरुङले जानकारी दिए। चालीस वर्षमाथिमा २३ टोलीको सहभागिता रहेको छ।

यसैगरी ५० वर्षमाथि उमेर समूहका विजेताले रु एक लाख र उपविजेताले रु ५० हजार पाउने छन् । पचास वर्ष वर्षमाथिको प्रतियोगितामा नौ टोलीको सहभागिता रहेको छ। यसैगरी ६० वर्षमाथिका विजेताले रु ५० हजार र उपविजेताले रु ३० हजार पाउनेछन् । यस विधामा चार टोलीको सहभागिता निश्चित भएको बताइन्छ।

प्रतियोगितामा पोखरासहित भारतको देहरादुन, काठमाडौँ, ललितपुर, चितनव, सिरहा, हेटौँडा, सर्लाही, बुटवल, सिमरा, कैलाली, पाँचथरबाट सहभागिता रहेको छ। बगर भाइखलकले विसं २०६८ देखि निरन्त भेट्रान फुटबल सञ्चालन गर्दै आइरहेको छ।

सोही अवसरमा संस्थाले फुटबल खेल विकासमा विशेष योगदान दिने पूर्वराष्ट्रिय फुटबल खेलाडी एवं प्रशिक्षक शम्भु केसीलाई सम्मानित गर्ने भएको।राखेपका पूर्वप्रशिक्षकसमेत रहेका केसी वरिष्ठ फुटबल प्रशिक्षक हुन्।

Leave A Reply

Your email address will not be published.