सुचना, समाचार र मनोरन्जन

आजदेखि रास्वपाको ‘राष्ट्रव्यापी दबाब अभियान’

राष्ट्रिय स्वतन्त्र पार्टी {रास्वपा}ले आजदेखि ‘राष्ट्रव्यापी दबाब अभियान’सुरुआत गर्ने भएको छ। अगामी चैत २१ सम्म जारी रहने पहिलो चरणको अभियानको पार्टी सभापति रवि लामिछानेले मेलम्चीबाट अभियानको शुभारम्भ गर्ने जनाइएको छ।

‘राष्ट्रव्यापी दबाब अभियान’ को सुरुआत मेलम्ची खानेपानी आयोजना स्थलबाट सुरु गर्न लागिएको रास्वपा सिन्धुपाल्चोकका संयोजक माया गुरुङले बताए। उनले मेलम्ची खानेपानी आयोजना निर्माणलाई पूर्णता दिन दबाबका लागि आयोजनाको कार्यालय परिसरबाटै अभियानको थालनी गर्न लागेको जानकारी दिए।

सिन्धुपाल्चोक(काठमाडौं दबाब यात्राको सांसद सोविता गौतमले अगुवाइ गर्नुहुने छ। मेलम्चीस्थित खानेपानी कार्यालय, पिपलबोटबाट पदयात्रा सुरु गरी हेलम्बुस्थित अम्बाथान मुहानसम्म पुग्ने कार्यक्रम तय भएको जनाइएको छ। पदयात्राका क्रममा स्थानीय बस्तीका बासिन्दाको सुझाव तथा गुनासासमेत लिइने बताइएको छ।

दबाब यात्रामा सांसदसहित २१ जनाले अगुवाइ गर्नेछन्। अभियानअन्तर्गत पहिलो चरणमा प्रत्येक प्रदेशबाट तीन–तीनवटा योजना छनोट गरी २१ योजना निर्माणका लागि दबाब दिइने रास्वपाले जनाएको छ।

रुग्ण र अलपत्र पारिएका विकास योजनाको कामप्रति सरकारको ध्यानाकर्षण गराउनका लागि रास्वपाले दबाब अभियान सुरु गर्न लागिएको सांसद गौतमले बताए।

Leave A Reply

Your email address will not be published.