सुचना, समाचार र मनोरन्जन

टेवानद्धारा स्व.हुतराज श्रेष्ठ स्मृति पुरस्कार अक्षयकोष स्थापना

टेवानकी संस्थापक सदस्य तुमला श्रेष्ठले दिवंगत श्रीमान् हुतराज श्रेष्ठको सम्झनामा ५ लाख, ५१ हजार, १ सय ११ रुपैयाँ टेवानको पर्यटन पुरस्कार अक्षयकोषमा स्थापनाका लागि सहयोग गरेकी छन् । श्रेष्ठले टेवानका अध्यक्ष कमला गिरीलाई चेक हस्तान्त्ररण गरेकी छन् ।

पोखरा /

११४ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा पर्यटन व्यवसायी महिला संघ, नेपाल {टेवान}ले स्व. हुतराज श्रेष्ठ स्मृति पुरस्कार अक्षयकोष स्थापना गरेको छ ।

नारी दिवसका अवसरमा टेवानले स्वर्गीय पर्यटन व्यवसायी हुतराज श्रेष्ठको नाममा साढे पाँच लाख रुपैयाँको पर्यटन पुरस्कारका लागि अक्षयकोष स्थापना गरेको हो ।

टेवानकी संस्थापक सदस्य तुमला श्रेष्ठले दिवंगत श्रीमान् हुतराज श्रेष्ठको सम्झनामा ५ लाख, ५१ हजार, १ सय ११ रुपैयाँ टेवानको पर्यटन पुरस्कार अक्षयकोषमा स्थापनाका लागि सहयोग गरेकी छन् । श्रेष्ठले टेवानका अध्यक्ष कमला गिरीलाई चेक हस्तान्त्ररण गरेकी छन् ।

टेवानले स्व. हुतराज श्रेष्ठ स्मृति पुरस्कार वार्षिक साधारण सभामा पर्यटन, सामाजिक क्षेत्रमा योगदान दिएका उत्कृष्ट दुई जनालाई सम्मान गर्ने गरी अक्षयकोष स्थापना गरेको अध्यक्ष गिरीले बताइन् ।

पूर्वी नेपालको भोजपुरबाट पोखरा आएर लेकसाइडको पर्यटन क्षेत्रको विकासमा योगदान दिँदै आएका हुतराज श्रेष्ठको गएको असोजमा ७७ वर्षको उमेरमा निधन भएको थियो । उनको निधनपछि श्रीमती तुमलाले टेवानमा पर्यटन पुरस्कार अक्षयकोष स्थापना गर्न सहयोग गर्दै हुतराजको योगदानलाई देश विदेशमा फैलाउने विश्वास गरीन् ।

त्यसै गरी टेवानले महिला दिवसको अवसरमा पोखराको पुम्दीकोटमा हरेको महादेवको मन्दिरको थप विकासका लागि २५ हजार ५ सय ५५ रुपैया सहयोग गरेको छ ।

पोखराको पर्यटनमा हुतराज श्रेष्ठको योगदान :

२००३ सालमा भोजपुरमा जन्मिएका हुतराज श्रेष्ठ पहिलो पटक पर्यटनका विषयमा तालिम दिन २०३६ सालमा पोखरा पुगेका हुन् । पूर्वी नेपालको भोजपुरमा जन्मिएर धरान लगायतका ठाउँमा पर्यटनबारे धेरै सीप, ज्ञान, अध्ययन तथा तालिमप्राप्त श्रेष्ठ पहिलो पटक पोखरा पुगेपछि लेकसाइडका व्यवसायीलाई तालिम दिएका थिए ।

त्यसपछि उनले पोखरामै बसाई गरे । पोखरामा हुँदा सुरुमा कान्तिपुर होटल खोलेर व्यवसाय थालेका उनले पछि बेसक्याम्प होटल पनि सञ्चालन गरे । आफूले पनि व्यवसाय गर्ने र अरूलाई पनि पर्यटन व्यवसायमा प्रेरित गर्ने उनले अरु धेरै व्यवसायीको मार्ग निर्देशकका रूपमा काम गरे ।

भोजपुरका सरकारी स्कुलमा हेडमास्टर भएर शिक्षण पेशामा लागेका उनी पछि पोखरा पुगेपछि प्रशिक्षण दिँदै व्यवसायी बनेका हुन् । पोखराको पर्यटनलाई नयाँ उचाइमा पु¥याउन व्यवसायीसँग हातेमालो गर्दै अघि बढेका उनले पोखराका अन्य पर्यटन तथा सामाजिक संघ संस्थामा संस्थापकदेखि सदस्यसम्म भएर काम गरे ।

२०३० सालमा धरानकी तुमला श्रेष्ठसँग बिहे गरेर पोखरामा बस्दै आएका हुतराजका दुई छोरा प्रभात र प्रितम तथा छोरी प्रसन्ना छन् । तुमला टेवानको संस्थापक सदस्य बनेपछि उनले आफ्ना श्रीमान् हुतराजको योगदानलाई अविस्मरणीय बनाउन पर्यटन पुरस्कार अक्षयकोष स्थापना गर्न सहयोग गरेकी हुन् ।

पर्यटन क्षेत्रमा पनि होटल व्यवसायीका रूपमा परिचय बनाएका हुतराजले सामाजिक, आर्थिक तथा धार्मिक क्षेत्रमा धेरै सेवा गरेका छन् । उनले विश्व हिन्दु महासंघ, पश्चिमाञ्चल क्षेत्रको महासचिव भएर काम गर्दा केदारेश्वर बोलबम धाम अन्तर्गत महायज्ञको अनुदान अध्यक्ष भएर काम गरेका थिए ।

यस्तै उनले मुक्तिनाथ क्षेत्रको झण्डै दुई दशकसम्म अध्यक्ष भएर काम गरेका हुन् । यस्तै रामघाट मुक्तिनाथ आश्रम क्षेत्रको भवन निर्माण गर्नुका साथै मुक्तिनाथ स्वास्थ्य सेवा भवन निर्माण गर्न सहयोग गरेका थिए।

यस्तै पोखराको रामघाट, विन्धावासिनी माता समिति, त्रिवेणीधाम गंगा माता महोत्सवदेखि कालीगण्डकी माता महोत्सवसम्म सञ्चालन गर्न पनि विशेष भूमिका खेलेका थिए ।

यस्तै अन्तर्राष्ट्रिय लायन्स क्लबमा पनि रहेर काम गरेका उनले माउन्टेन म्युजियम, नेत्र ज्योति संघ कास्की, पोखरा छोरेपाटन हाउजिङ सोसाइटीका साथै मणिपाल अस्पतालमा कमजोर आर्थिक अवस्था भएका महिला सुत्केरी हुँदा दश हजार रुपैयाँसम्म आर्थिक सहयोग दिएर पनि समाजसेवा गर्दै आएका थिए ।

Leave A Reply

Your email address will not be published.