सुचना, समाचार र मनोरन्जन

बेगनासतालमा प्रथम ड्रागन बोट रेस: तयारी सुरु, १२ टिमको सहभागिता हुने

आयोजकका अनुसार ५०० मिटर ड्रागन बोट रेसतर्फ पहिलो, दोस्रो र तेस्रो हुने टिमले क्रमश नगद रु २ लाख, १ लाख २५ हजार र ६० हजारका साथमा ट्रफी प्राप्त गर्नेछ भने २०० मिटरतर्फ पहिलो, दोस्रो र तेस्रो हुने टिमले क्रमश नगद रु १ लाख, ७५ हजार र ४० हजार प्राप्त गर्नेछ ।

पोखरा /

‘प्रथम ड्रागन बोट रेस २०८०’ मा १२ टिमको सहभागिता हुने भएको छ ।

पोखराको बेगनासतालमा यहि चैत्र ११ र १२ गते आयोजना हुने प्रतियोगितामा शसस्त्र प्रहरीको एपिएफ क्लब र नेपाल आर्मीको क्लबसहित १२ टिमको सहभागिता हुने भएको हो । बेगनासमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले ५०० मिटर र २०० मिटर गरी दुई छुट्टा–छुट्टै इभेन्टहरु तय गरिएको छ ।

आयोजकका अनुसार ५०० मिटर ड्रागन बोट रेसतर्फ पहिलो, दोस्रो र तेस्रो हुने टिमले क्रमश नगद रु २ लाख, १ लाख २५ हजार र ६० हजारका साथमा ट्रफी प्राप्त गर्नेछ भने २०० मिटरतर्फ पहिलो, दोस्रो र तेस्रो हुने टिमले क्रमश नगद रु १ लाख, ७५ हजार र ४० हजार प्राप्त गर्नेछ । नगद पुरस्कारमा मात्रै ६ लाख ५० हजार खर्च हुने पोखरा महानगर पर्यटन विकास समितिका अध्यक्ष रबिन्द्र पौडेलले जानकारी दिएका छन् ।

‘प्रथम ड्रागन बोट रेस २०८०’ लाई सफल बनाउन माछा प्रदर्शनी, स्थानिय झाँकी र भेषभुषाको प्रदर्शनी, सांस्कृतिक कार्यक्रम, नेपाल चिन झल्किने वस्तु एवं परिकारहरु समेत प्रदर्शनीमा राखिने आयोजक मध्येका एक होटल तथा रेष्टुरेन्ट एसोसियसन लेखनाथका अध्यक्ष विरभद्र कंडेलले जानकारी दिएका छन् ।

कुल ४५ लाख खर्च हुने उक्त प्रतियोगिता सम्पन्न गर्न नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको २० लाख सहयोग रहेको छ भने पोखरा महानगर पालिकालगायत अन्य संघ संस्थाले समेत सहयोग गर्ने भएको आयोजकले जनाएको छ ।

चिनियाँ परम्परागत खेलमा आधारित उक्त खेलको आयोजक संस्था पोखरा महानगर पालिका, नेपाल ड्रागन बोट रेस संघ गण्डकी प्रदेश र होटल तथा रेष्टुरेन्ट एसोसियसन लेखनाथको संयूक्त आयोजनामा सञ्चालन हुने प्रतियोगितामार्फत लेखनाथको पर्यटन प्रवर्द्धन गर्न महत्वपूर्ण हुने नेपाल पर्यटन बोर्ड गण्डकीका कार्यालय प्रमुख नविन पोखरेलले बताए । उनले भने–“यो एक महत्वपूर्ण कार्यक्रम हो । हामी पोखरा महानगर संग नजिक रहेर सहयोग गर्दैछौं यो प्रतियोगिताले यस क्षेत्रको पर्यटन विकासमा भूमिका खेल्नेछ ।”

सो अवसरमा आफ्ना भनाई राख्दै नेपाल ड्रागन बोट संघ गण्डकीका अध्यक्ष ई।दिपक सुबेदीले लेखनाथलाई सात तालको शहरमा मात्रै नभई जल खेलको शहरको रुपमा परिचित बनाउन यो प्रतियोगिताले भूमिका खेल्ने बताए । उनले भने–“भर्खरै पोखरा पर्यटनको राजधानीको रुपमा घोषणा भएको छ । ड्रागन बोट रेसले समेत पोखराको प्रवर्द्धन गर्न र पर्यटकको बसाई लम्व्याउन भूमिका खेल्नेछ ।”

Leave A Reply

Your email address will not be published.