सुचना, समाचार र मनोरन्जन

१ लाख ६७ हजार पर्यटकले गरे भक्तपुर अवलोकन

काठमाडौँ/

भक्तपुर घुम्न आउने पर्यटकको संख्या बढेको छ । गत आर्थिक वर्ष २०७९÷८० मा १ लाख ६७ हजार ६५२ जना विदेशी पर्यटकहरूले भक्तपुर अवलोकन गरेका छन् ।

२०७८÷७९ मा भन्दा २०७९÷८० मा भक्तपुर पुग्ने पर्यटक १ लाख १४ हजार ९२ जना बढी छन् । आर्थिक वर्ष २०७८÷७९ को तथ्यांक हेर्ने हो भने एक वर्षको अवधिमा जम्मा ५३ हजार ५६० जना पर्यटकहरूले भक्तपुर अवलोकन गरेका थिए ।

गत आर्थिक वर्षमा भक्तपुर भ्रमण गर्नेमा ८६ हजार ३ सय ३४ जना (गैरसार्क) र ८१ हजार ३ सय १८ जना (सार्क राष्ट्र र चीनका पर्यटकहरू) छन् ।

सोही आर्थिक वर्षमा पर्यटन शुल्कबाट १८ करोड ४० लाख भन्दा बढी रुपैयाँ संकलन भएको छ । जसमा गैरसार्क पर्यटकबाट १४ करोड ३४ लाख भन्दा बढी र सार्क राष्ट्र र चीनका पर्यटकबाट ४ करोड ६ लाख पर्यटन शुल्क उठेको छ ।

२०७८÷७९ मा ४ करोड ८९ लाख भन्दा बढी पर्यटन शुल्क उठेको थियो । २०७९÷८० मा पर्यटन शुल्कबाट नगरपालिकाले १३ करोड ३१ लाख ३६ हजार ४०० रुपैयाँ आम्दानी गरेको छ ।

भक्तपुर नपाको पर्यटन सूचना तथा सेवा केन्द्रको तथ्यांक अनुसार २०७९÷८० मा अमेरिका, अर्जेन्टिना, अष्ट्रेलिया, अष्ट्रिया, बेल्जियम, ब्राजिल, क्यानडा, चिली, चीन, चेक, डेनमार्क, इड्डल्याण्ड, फिनल्याण्ड, फ्रान्स, जर्मनी, ग्रीस, हल्याण्ड, हङ्गेरी, आइसल्याण्ड, भारत, आयरल्याण्ड, इजरायल, इटाली, जापानी, मलेसिया, मेक्सिको, न्युजिल्याण्ड, नर्वे, पोल्याण्ड, पोर्चुगल, रुस, दक्षिण अफ्रिका, दक्षिण कोरिया, सिंगापुर, स्पेन, स्वीडेन, स्वीट्जरल्याण्ड, ताइवान, थाइल्याण्ड, टर्की र अन्य देशलगायतका पर्यटकहरुले भक्तपुर भ्रमण गरेका छन् ।

भक्तपुर नगरपालिकाले हाल खौमा, सानोब्यासी, ठूलो ब्यासी, महाकाली, बेखाल, मुलढोका, कमलविनायक, च्याम्हासिंह, जगाती, भेलुखेल, राममन्दिर, बाराही, वंशगोपाल, भार्वाचो गरी १४ वटा काउन्टरहरुबाट नगर प्रवेश गर्ने बाह्य पर्यटकहरुसँग पर्यटन शुल्क उठाउँदै आइरहेको छ । शुल्क नतिरी भक्तपुर प्रवेश गर्ने पर्यटकहरुलाई तुरुन्तै नियन्त्रणमा लिई शुल्क तिर्न लगाउने गरिएको छ ।

भक्तपुर नगरपालिकाले गैरसार्क क्षेत्रका पर्यटकसँग १८०० रुपैयाँ तथा सार्क तथा चिनियाँ पर्यटकसँग प्रतिव्यक्ति ५०० रुपैयाँ शुल्क संकलन गर्दै आएको छ ।

Leave A Reply

Your email address will not be published.