सुचना, समाचार र मनोरन्जन

बंगलादेशको एक उद्योगभित्रका ७०० कर्मचारी एकैसाथ नेपाल भ्रमणमा

काठमाडौँ/

बंगलादेशको एक कम्पनीले आफ्नो उद्योगभित्रका ७०० कर्मचारीलाई घुमफिरका लागि नेपाल पठाएको छ । बंगलादेशको एकेआइजे ग्रुप अन्तर्गत प्लाष्टिक डिभिजनले ठूलो संख्यामा आफ्ना कर्मचारीलाई एकै पटक नेपाल भ्रमणमा पठाएको छ ।

बंगलादेशभर २ लाख भन्दा बढी कर्मचारी रहेको यो ग्रुपले ‘डिलर एण्ड सेल्स कन्फ्रेन्स’ नाममा यो भ्रमण राखेको हो । शुक्रबार १७५ जनाको पहिलो टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल पर्यटन बोर्ड तथा नेपाली पर्यटन व्यवसायीले स्वागत गरे । उनीहरुलाई पञ्चेबाजाले स्वागत गरिएको हो ।

Chaka Panja

बाँकी टोली आजै साँझ र शनिबारसम्म नेपाल आइपुग्ने नेपाल पर्यटन बोर्डले जनाएको छ । नेपाल सभा सम्मलेनका लागि पनि आकर्षक गन्तव्य हो भन्ने सन्देश प्रवाह गर्न यो भ्रमणले ठूलो भूमिका खेल्ने बोर्डका सञ्चार संयोजक टीपी भुसालले बताए । उनका अनुससार यो टोलीले काठमाडौं आसपासका पर्यटकीय क्षेत्रमा भ्रमण गर्नेछ ।

नेपालमा चार दिनसम्म रहँदा बंगलादेशी टोलीले आफ्नो कम्पनीको पूर्वनिर्धारित कार्यक्रम अनुसार नेपालमा सम्मेलन समेत आयोजना गर्नेछ । ‘पहिलो पटक कुनै कम्पनीले घुमफिरको प्रयोजनमा यति ठूलो समूह नेपाल पठाएको छ’ भुसालले भने, ‘उनीहरुलाई नेपालमा पहिलो आतिथ्य अविस्मरणीय बनाउन बोर्डले भव्य स्वागत गरेको हो ।’

यो टोलीलाई नेपाली गाइडहरुले काठमाडौं आसपासका क्षेत्रमा घुमाउने छन् । उनीहरु स्वयम्भु, पाटन दरवार, चन्द्रागिरि, धुलिखेल र भक्तपुर भ्रमणमा जाने छन् ।

पछिल्लो समय नेपालमा बंगलादेशी पर्यटकको आगमन निरन्तर बढ्दैछ । जुलाई २०२३ मा २६ सय ९६ जना पर्यटक नेपाल आएका थिए । जुनमा यो संख्या २४ सय २ थियो । मेमा २१ सय ६४, अप्रिलमा २२ सय १७, मार्चमा २४ सय ६६, फेब्रुअरीमा १९ सय ७ र जनवरीमा २४ सय ६८ जना बंगलादेशी पर्यटक नेपाल भ्रमणमा आएको देखिएको छ ।

Leave A Reply

Your email address will not be published.