सुचना, समाचार र मनोरन्जन

धादिङ बस दुर्घटनामा ज्यान गुमाएका ८ मध्ये ४ जनाको परिचय खुल्यो

धादिङ/

धादिङको गजुरी गाउँपालिका–२ चालिसेमा रहेको छहराको बस दुर्घटनामा ज्यान गुमाएका आठ मध्ये चार जनाको परिचय खुलेको छ ।

परिचय खुल्नेमा म्याग्दी रघुगङ्गा–३ का ५० वर्षीय थानबहादुर भण्डारी, पर्वत मोदी–१ की १५ वर्षीय कृतिका शर्मा पौडेल, धादिङ गजुरी–८ का २० वर्षीय सुशील रम्तेल र कास्की फुलबारी–११ का २४ वर्षीय सुमन थापा छन् ।

दुर्घटनामा दुई महिलासहित छ जना पुरुषको दुर्घटनास्थलमै ज्यान गएको छ । ज्यान गुमाउने एक जना महिला र तीन जना पुरुषको परिचय खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

सहचालक रोशन तामाङका अनुसार १९ जनाले काउन्टबाट र दुई जनाले ई सेवाु बाट टिकट लिएका थिए । कलङ्कीबाट दुई जना र धादिङको आदमघाटबाट दुई जना पुरुष बसमा चढेका सहचालक तामाङले बताए। उनी सकुशल छन ।

काठमाण्डौबाट पोखरा हुँदै म्याग्दीको बेनीतर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस अनियन्त्रित भई सडकबाट त्रिशूली नदीमा खसेको हो । प्रहरी उपरीक्षक मिश्रका अनुसार दुर्घटनामा १७ जना घाइते भएका छन् । घाइतेमध्ये १३ जनाको उपचारका लागि काठमाण्डौ पठाइएको छ । यस्तै एक जनाको राजमार्ग अस्पताल मलेखु र एक जनाको प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा उपचार भइरहेको छ । सहचालक र बाग्लुङ गलकोटकी ज्ञानु बुढामगर सामान्य छन् ।

बस नदीमा डुबेकोले गोताखोरको टोलीले एक जना यात्रु हराइरहेको आशङ्कामा खोजी जारी राखेको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले उद्धार गरेका थिए । विपरीत दिशातर्फ बस खसेकाले साँघुरो सडकमा ओभरटेक गर्ने क्रममा अनियन्त्रित भएको अनुमान छ ।

Leave A Reply

Your email address will not be published.