तनहुँ /
तनहुँ जिल्लाको घिरीङ गाउँपालिकामा महिलाहरुको क्षमता बढाउने उदेश्यले सञ्चालित ३ दिने उद्घोषण तथा नेतृत्व विकास तालिम आइतवार सम्पन्न भएको छ ।
तालिमको समापन समारोहमा बोल्नुहुदै प्रमुख अतिथी घिरीङ पालिकाका अध्यक्ष होम वहादुर थापाले महिलाहरुको अन्र्तनिहीत क्षमतालाई उजागर गर्दै नेतृत्वको विकास गराउन तालिम निकै प्रभावकारी भएको बताए । यस्ता तालिमले महिलाहरुलाई घरको चुलाचौकामा मात्र सीमीत नराखी सामाजिक मुलधार ल्याउन फलदायी हुने उनको भनाई थियो ।
विशेष अतिथी घिरीङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ढकालले महिलाहरुको बोल्ने शैलीमा आएको परीवर्तन तारीफयोग्य भएको बताए । तालिमको समापन समारोह घिरीङ गाउँपालिकाकी उपाध्यक्ष राधादेवी अधिकारीको अध्यक्षतामा भएको थियो भने तालिममा सञ्चारकर्मी गोविन्द थापा सिञ्जालीले सहजीकरण गरेका थिए ।
तालिममा ५ वटा वडाका कुल ३४ जना महिलाहरुले सहभागिता जनाएको महिला विकास शाखा प्रमुख पुष्पा थापाले बताईन । प्रशिक्षार्थीहरुले समापन समारोहको कार्यक्रम सञ्चालन गर्नुका साथै तालिमका अनुभव पनि बाडेका थिए ।