सुचना, समाचार र मनोरन्जन

गण्डकी प्रदेश फेन्सिङ संघ तदर्थ समिति गठन, अध्यक्षमा शाही

नेपाल फेन्सिङ संघको आयोजनामा शुक्रबार पोखरामा सम्पन्न भेलाले शाहीको अध्यक्षतामा ११ सदस्यिय कार्यसमिति चयन गरेको हो ।

पोखरा /

गण्डकी प्रदेश फेन्सिङ संघ तदर्थ समितिको अध्यक्ष पदमा विजय शाही सर्वसम्मत चयन भएका छन् ।

नेपाल फेन्सिङ संघको आयोजनामा शुक्रबार पोखरामा सम्पन्न भेलाले शाहीको अध्यक्षतामा ११ सदस्यिय कार्यसमिति चयन गरेको हो । भेलाले समितिको उपाध्यक्षमा मनिषा गुभाजु, सचिवमा सन्दिप बराल, कोषाध्यक्षमा प्रदिप छिन्दाललाई चयन गरेको छ ।

संघको कार्यसमिति सदस्यमा केशव पाठक, कृष्ण रानाभाट, शिव शर्मा, रविन्द्र खड्का, विरेन्द्र तिवारी, निशान कार्की र छवी गुरुङ चयन भएका छन् ।

चयन भएका पदाधिकारीहरुलाई शुभकामना व्यक्त गर्दै प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष धोज कुमार गुरुङले फेन्सिङ खेलको विकासका लागि परिषद सबै प्रकारको सहयोग गर्न तयार रहेको बताए । उनले फेन्सिङ खेलमा उमेर समुहका खेलाडी उत्पादन लागि विशेष जोड दिनुपर्ने कुरा औंल्याउँदै सबै खेलाडी, प्रशिक्षक र निर्णायकहरुलाई सूचिकृत हुन आह्वान समेत गरे ।

नेपाल फेन्सिङ संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष सुनिल कुमार श्रेष्ठले नेपाली फेन्सिङ खेलले पछिल्लो चरणमा अन्तर्राष्ट्रियस्तरमा आफ्नो उत्कृष्ट प्रभाव छोड्न सफल भएको बताए । उनले भने–“हामीले विभिन्न समस्या र सिमित श्रोत साधनका बावजुद अन्तर्राष्ट्रिय स्तरका विभिन्न प्रतियोगितामा जुन प्रभाव बनाएको छौं यसले भावि दिनमा नेपाली फेन्सिङलाई उचाईमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्नेछ ।” उनले सातै प्रदेशमा फेन्सिङ खेलको विकासका लागि आवश्यक खेल सामाग्रीहरु वितरण गर्ने गरि संघले योजना बनाएको उल्लेख गरे ।

संघका केन्द्रिय महासचिव एवं नेपाल ओलम्पिक कमिटिका कार्यकारी सचिव सुजनलाल श्रेष्ठले गण्डकी प्रादेशिक गठन हुनुले गण्डकी प्रदेशमा फेन्सिङ खेलको विकासमा कोशे ढुङ्गा सावित हुने बताए । खेलाडीहरुलाई खेल सामाग्रीहरुको सहज पहुँच संगै प्रशिक्षणका कार्यक्रमहरु अघि बढाउने गरी संघले योजनाहरु कार्यान्वयन गर्ने सोच बनाएको उनले बताए ।

सो अवसरमा बोल्दै प्रदेश खेलकुद परिषदका सदस्य खगेन्द्र क्षेत्रीले खेलाडी उत्पादन र प्रशिक्षणमा विशेष ध्यान दिन आग्रह गर्दै विद्यालयस्तरबाट खेलाडीहरु उत्पादन गर्न सके फेन्सिङ खेलको विकास र विस्तारमा अझै फड्को मार्ने विश्वास व्यक्त गरे । उनले प्रदेशका ११ वटै जिल्लामा फेन्सिङ खेलको विकास गर्न तथा समुदायलाई समेत फेन्सिङ खेलको सचेतना जगाउनु पर्नेमा जोड दिए ।

Leave A Reply

Your email address will not be published.