सुचना, समाचार र मनोरन्जन
Sarangi

वादी सरोकार मञ्चलाई ग्लोबलको एक लाख सहयोग

पोखरा/

रानीपौवास्थित ग्लोबल कलिजियट स्कुलले एक कार्यक्रमका बिच वादी समुदायको शिक्षा, स्वास्थ्य र रोजगारीको अभियन्ता हिक्मत वादीमार्फत वादी सरोकार मञ्चलाई नगद रु एक लाख प्रदान गरी सहयोग पुर्याएको छ । सानैदेखि सङ्घर्ष गरेर हुर्किएका अभियन्ता हिक्मतले वादी समुदायका सयौँ गरिब तथा असहाय बालबालिकाका लागि सुर्खेतको वीरेन्द्र नगरमा होस्टल सञ्चालनमा ल्याएका छन् ।

विद्यालयको नियमित प्रार्थनासभामा सञ्चालित एक कार्यक्रमकाबिच विद्यालयका प्राचार्य बाबुराम पन्त तथा निर्देशक नन्दलाल त्रिपाठीले हिक्मत वादीलाई संयुक्तरुपमा एकलाख रुपियाँको चेक हस्तान्तरण गर्दै प्रतिवर्ष एकलाखका दरले आगामी ४ वर्षसम्म निरन्तर सहयोग पुर्याउने घोषणा गरे । आफ्नो आर्थिक अवस्था सामान्य हुँदाहुँदै पनि अति विपन्न तथा असहाय वादी बच्चाहरुका लागि हिक्मत वादीबाट उदार दिलका साथ सञ्चालित भोजन, आवास र शिक्षासहितको होस्टलको नियमित खर्च धान्न समस्या परेको कुरा हेर्ने कथा मार्फत थाहा पाएपछि व्यक्ति हिक्मत वादी र उहाँको संस्था सहयोगका लागि उपयुक्त पात्र लागेकाले सहयोग गरिएको पन्तले बताए ।

सहयोग रकम ग्रहण गरेपछि विद्यार्थीहरुबिच हिक्मत वादीले अल्पसङ्ख्यक वादी समुदायको इतिहास, उनीहरुको दयनीय सामाजिक तथा आर्थिक अवस्था तथा अभियानमा जोडिए पछिको आफ्नो सङ्घर्ष र अनुभव सुनाएर राम्रो काम गर्दा जस्तै परिस्थिति आए पनि हार खान नहुने भन्दै ग्लोबल कलेजियटको सहयोगप्रति कृतज्ञता व्यक्त गरेका थिए ।

विद्यार्थीमा सहयोग एवम् सकारात्मक भावना विकास गरी कम अवसर पाएका व्यक्तिलाई विशुद्धरुपमा सहयोग पुर्याउन विद्यालयले कहिले बाढीप्रभावित क्षेत्रमै पुगेर त कहिले विभिन्न च्यारिटीमार्फत सहयोग पुर्याउँदै आइरहेको छ । विद्यालयमा हाल बाल विकासदेखि कक्षा १२ सम्म २ हजार भन्दा बढी अध्ययनरत छन् ।

Leave A Reply

Your email address will not be published.