सुचना, समाचार र मनोरन्जन

एमालेले कर्णालीमा भदौ ३० गते प्रतिनिधि छनोट गर्ने

सुर्खेत/

नेकपा एमालेले कर्णाली प्रदेश अधिवेशनका लागि भदौ ३० गते प्रतिनिधि चयन गर्ने भएको छ । एमाले कर्णाली प्रदेश कमिटीको बुधबार बसेको बैठकले प्रतिनिधि छनोटलगायतका निर्णय गरेको हो । बैठकले प्रदेशका १० जिल्लाका ७९ वटै पालिकामा एकै दिन प्रतिनिधि चयन गर्ने निर्णय गरेको छ ।

एमाले कर्णाली प्रदेशको अधिवेशन असोज १० र ११ गते प्रदेश राजधानी वीरेन्द्रनगरमा हुँदैछ । अधिवेशन प्रतिनिधि छनोटका लागि खुलातर्फ १०० जना पार्टी सदस्य बराबर १ जना र दलित पार्टी सदस्यतर्फ भने ७५ जना सदस्य बराबर एक जना प्रतिनिधि चयन गर्ने निर्णय गरिएको प्रदेश अध्यक्ष विनोदकुमार शाहले जानकारी दिए ।

उनका अनुसार छनौट भएका प्रतिनिधि मध्ये एकतिहाई महिला अनिवार्य हुनुपर्ने मापदण्ड बैठकले तोकेको छ । सदस्य संख्याबाट शेष रहेको ५० प्रतिशत (१५० जना सदस्य हुन आएमा २ जना प्रतिनिधि) अंक बराबर पनि एक जना प्रतिनिधि थप हुने व्यवस्था गरिएको छ ।

यस्तै, प्रतिनिधि छनौट र व्यवस्थापनको आधार भूगोलको लागि पालिका र समावेशीका लागि प्रदेश निर्वाचन क्षेत्र रहने बताइएको छ भने समावेशी सदस्यले क्षेत्र रोज्न पाउने अधिकार सुनिश्चित गरिएको छ ।

प्रदेशमा ५१ हजार बढी पार्टीका संगठित सदस्य रहेको कर्णालीमा करिब ६५० जना प्रतिनिधि छनोट हुने छन् ।

Leave A Reply

Your email address will not be published.