सुचना, समाचार र मनोरन्जन

वर्तमान संविधान बीपी विचारकै सार: राष्ट्रपति पौडेल

काठमाडौँ/

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको वर्तमान संविधान बीपी विचारकै सार भएको बताएका छन् ।

जननायक बीपी कोइराला स्मृति ट्रस्टले कोइरालाको ११० औं जन्मजयन्तीका अवसरमा शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरेको बीपी साहित्य तथा स्वतन्त्रता सेनानी सम्मान कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन् ।

राष्ट्रपति पौडेलले अहिलेको संविधानले गरेको समावेशी व्यवस्थासहितका लोकतान्त्रिक मूल्य मान्यता बीपीले चाहेको समावेशी समाजको अवधारणाको सार भएको बताए । उनले बीपीको विचारलाई अन्यथा व्याख्या नगर्न पनि आग्रह गरे ।

‘राष्ट्रिय एकता र मेलमिलापबाटै मुलुकसामु देखापर्ने समस्याको समाधान खोज्नुपर्छ भन्ने उहाँको धारणालाई समय र परिस्थितिसापेक्ष बनाउँदै त्यसैलाई अनुकरण गरेर आज हामी संघीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धि हासिल गर्न सफल भएका छौं,’ राष्ट्रपति पौडेलले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन र यसैका माध्यमबाट मुलुकसामु देखा पर्ने यावत समस्या समाधान गरी जनताले अपेक्षा गरेअनुरूप आर्थिक रुपमा समृद्ध नयाँ नेपाल निर्माण गर्न बीपीले अघि सार्नुभएको कल्याणकारी राज्य प्रणालीको अवधारणा सिद्धान्त, मूल्य, मान्यता र आदर्श आज पनि उत्तिकै सान्दर्भिक छन् ।’

कार्यक्रममा बीपी साहित्य सम्मान जनकपुरका डा. राजेन्द्र बिमललाई प्रदान गरियो । पुरस्कारको राशी एक लाख एकहजार रुपैयाँ र सम्मानपत्र छ ।

बीपी प्रजातन्त्र सेनानी सम्मान रुपन्देहीका ९२ वर्षीय डिल्लीरमण शर्मा न्यौपानेलाई प्रदान गरियो। सो पुरस्कारको राशी ५१ हजार नगद र सम्मानपत्र छ । राष्ट्रपतिबाट सम्मान ग्रहण गर्दै बिमलले बीपी सदैव स्वतन्त्रता र समानताका पक्षधर रहेको बताए ।

Leave A Reply

Your email address will not be published.