सुचना, समाचार र मनोरन्जन

प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति सीसँग हाङजाओमा शिष्टाचार भेट गर्ने

काठमाडौँ/

प्रधानमन्त्री पुष्पकमल दाहालले चीनका राष्ट्रपति सी जिनपिङसँग हाङजाओमा शिष्टाचार भेटवार्ता गर्ने भएका छन्। प्रधानमन्त्री दाहालले आफ्नो चीन भ्रमण र संयुक्त राष्ट्र संघको ७८ औँ महासभाको औपचारिक भ्रमणबारे शुक्रबार प्रतिनिधि सभालाई जानकारी गराउँदै सो कुरा बताएका हुन्।

प्रधानमन्त्री दाहाल अगामी असोज ५ गते संयुक्त राष्ट्र संघको ७८ औँ महासभामा भाग लिएर सिधै चीन भ्रमणमा जाने कार्यक्रम तय गरिएको छ। प्रधानमन्त्री दाहालले छोटो समय रहेका कारण संयुक्त राष्ट्र संघको ७८ औँ महासभाको कार्यक्रम सकेर त्यतैबाट भ्रमण चीन भ्रमणमा जानुपर्ने अवस्था आएको बताए।

उनले आफ्नो चीन भ्रमण दुई मुलुकबीचको विद्यमान द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउने तथा नेपाल र नेपाली जनताको हित एवं दुई मुलुकबीचको सम्बन्धलाई मजबुत तुल्याउन सदुपयोग गर्ने बताए।

यसअघि प्रधानमन्त्री दाहालले असोज ४ गते संयुक्त राष्ट्र संघको ७८ औँ महासभालाई न्यूयोर्कमा सम्बोधन गर्नेछन्। प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्र संघको महासभामा आफूले नेपालले हासिल गरेका राजनीतिक उपलब्धिहरु अवगत गराउने, शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन नेपालले गरिरहेको प्रयासमा अन्तर्राष्ट्रिय समुदायको सद्भाव खोज्ने, अतिकम विकसित मुलुकबाट दिगो र स्थायी रुपमा स्तरोन्नति हुन आइपरेका चुनौतीबारे विश्व समुदायको ध्यानाकर्षण गराउने बताए।

उनले अल्प विकसित देशहरुको समूहका अध्यक्षको हैसियतले यो समूहका सदस्य राष्ट्रहरुले झेल्नुपरेका विशिष्ट चुनौतीबारे आवाज उठाउने, जलवायु परिवर्तनबाट नेपालजस्तो पर्वतीय देशमा परेको गहिरो र दूरगामी प्रभावलगायतका नेपालका लागि चासोका विषय र प्राथमिकताहरुप्रति विश्व समुदायको न्यायाकर्षण गराउने योजना रहेको बताए।

Leave A Reply

Your email address will not be published.