सुचना, समाचार र मनोरन्जन

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ समकक्षी छ्याङबीच आज भेटवार्ता

काठमाडौँ/

चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ समकक्षी ली छ्याङबीच आज भेटवार्ता हुँदैछ ।

भेटवार्तामा व्यापारिक सन्धि पुनरावलोकन, नेपालमा लगानी, उत्तरी सीमानाका जोड्ने सडक विस्तार, कृषि, प्रविधि, ऊर्जालगायत मुद्दामा छलफल हुने तयारी छ ।

नेपालले बेल्ट एन्ड रोड इनिसिएटिभ्स ९बीआरआई० कार्यान्वयनसम्बन्धी सम्झौता, नेपाल–चीन सीमापार विद्युत् व्यापार तथा बीआरआईअन्तर्गत चिनियाँ अनुदानमा एक वा दुई परियोजना निर्माणका विषयमा प्रस्ताव गर्ने तयारी गरेको छ ।

नेपाल र चिनियाँ प्रधानमन्त्रीबीच द्विपक्षीय वार्ताअघि प्रधानमन्त्री प्रचण्डलाई बेइजिङको तियानमेन स्क्वायरमा औपचारिक स्वागत गर्ने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्डले आज नै बेइजिङमा रहेको नेसनल पिपल्स कङ्ग्रेसका स्थायी समिति अध्यक्ष झाओ लेजीसँग पनि भेट गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री प्रचण्ड राष्ट्रसङ्घीय महासभामा भाग लिएर अमेरिकाको न्युयोर्कबाट १९औँ एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुन शनिवार हाङजाउ पुग्नुभएको थियो । त्यहाँ चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता भएको थियो । चिनियाँ राष्ट्रपतिसँगको भेट र छलफलले आफू उत्साहित भएको प्रधानमन्त्री प्रचण्डले बताएका छन ।

हिजो बेलुकी बेइजिङमा रहेको नेपाली दूतावासमा भएको स्वागत समारोहलाई सम्बोधन गर्दै राष्ट्रपतिसँग भएको वार्ता निकै सौहार्दपूर्ण रहेको र यसले दुई देशबीचको सम्बन्धलाई थप उचाइमा पुर्याउने विश्वास आफूले लिएको बताउनुभयो । उहाँ आउँदो १३ मा स्वदेश फर्कने कार्यक्रम छ ।

Leave A Reply

Your email address will not be published.