पोखरा/
डाक्टर कुटिएपछि पोखरास्थित मणिपाल शिक्षण अस्पताल तनावग्रस्त बनेको छ । आज बिहान अस्पतालका डाक्टरमाथि कुटपिट भएपछि अस्पतालको अवस्था तनावग्रस्त बनेको हो ।
उपचारको क्रममा खटिएका डाक्टरसँग बिरामीको बारेमा बिरामीका आफन्तले छलफल गर्ने क्रममा उनीसँग आएका व्यक्तिले कुटपिट गरेको प्रत्यक्षदर्शीले जनाएका छन् । डाक्टरलाई कुट्ने व्यक्ति मालेपाटनका विनय गुरुङ भएको पोखरा बगरस्थित प्रहरी कार्यालयले जनाएको छ ।

हिजो गम्भीर अवस्थामा ल्याईएका बिरामी भेन्टिलेटरमा उपचारको क्रममा मृत्यु भएको र यहि विषयलाई लिएर गुरुङले डाक्टरमाथि कुटपिट गरेको अस्पताल स्रोतले जनाएको छ ।
डाक्टर कुटिएको विरोधमा अस्पतालका डाक्टर तथा नर्सहरु पनि कुट्ने व्यक्तिलाई कारवाहीको माग गर्दै आन्दोलित भएपछि अस्पतालको अवस्था तनावग्रस्त बनेको हो । डाक्टर तथा नर्सको टिमले डाक्टर कुट्ने व्यक्तिलाई जेल चलान गर्नु पर्ने माग राखेका छन् ।