कपिलवस्तु घर भएका पल्टुराम मगर अहिले मूर्तिकला व्यवसायमा छन् । ४४ वर्षीय मगर विगत १२ वर्षदेखि घोराही उपमहानगरपालिका–१७ गैरागाउँमा यही व्यवसायमा रमाउँदै आएका छन् । मगर कपिलवस्तुबाट दाङसम्म झरेको २५ वर्ष भएको छ । आफूमा भएको सीपलाई आयआर्जनसँग जोड्न पाउँदा उनी खुसी व्यक्त गर्छन् ।
वित्तीय संस्थाबाट रु तीन लाख कर्जा लिएर सुरु गरेको श्रीजनशील मूर्ति उद्योगले अहिले मगर परिवारलाई आत्मनिर्भरसमेत बनाएको छ । उनले आफ्नो जीवन चित्रकला र मूर्तिकलामै समर्पित गर्न र यसैलाई जीविकोपार्जनको माध्यम बनाउन चाहेको बताउछन् । हालसम्मको अनुभवबाट आफ्नो कला जीविकोपार्जनको भरपर्दो माध्यम हुन्छ भन्ने विश्वास भएको उनको भनाइ रहेको छ ।
“जिल्लामा सङ्ग्रहालय र पार्कहरू बन्ने क्रम बढेको छ । ठूला होटल र पार्टी प्यालेसले पनि विशेष कलाको खोजी गर्न थालेका छन्”, उनले भने, “आकर्षक भौतिक पूर्वाधार बढ्दै जाँदा कलाको बजार पनि फराकिलो हुँदै गएको छ । आफूले अहिले मागअनुसारको उत्पादन गर्दै आएको उनले बताए ।” यही व्यवसायबाट पल्टुरामको परिवारले वार्षिक रु १२÷१३ लाखको कारोबार गर्दै आएको छ । जसबाट छोरी, छोरीको पढाइ खर्च र घरायसी कामकाजमा खर्च हुने हुँदा बचत त्यति धेरै नहुने उनी बताउछन् । विभिन्न खालका मूर्तिहरु निर्माणका लागि कच्चा पदार्थ बुटवलबाट ल्याउने गरेका छन्। पछिल्लो समय यसको माग बढ्दै जाँदा व्यवसाय राम्रो हुँदै गएको उनको अनुभव रहेको छ । यहाँ उत्पादित मूर्तिहरु दाङ जिल्लासहित रोल्पा, सल्यान, प्युठान, रुकुमलगायत अन्य जिल्लामा समेत जाने गरेको छ ।
मूर्तिकला व्यवसायमा महिलाको सहभागिता कमै देखिन्छ । तर पल्टुरामका श्रीमती जानकी मगर पनि लामो समयदेखि मूर्तिकला व्यवसायमै व्यस्त छिन् । उनीसँगै श्रीमान् र छोराछोरी सबै सालिक तथा मूर्ति निमार्ण गरिरहेका छन् । सन्तानले बुबाआमाको सिको पनि गरिरहेका छन् । आफ्नो रुचि र स्वध्ययनले छोराछोरीहरु पनि मूर्तिकलामा लागेपछि मगर दम्पती खुसी छन् ।
जानकीको दैनिकी सालिक तथा देवीदेवता र जनावरका आकर्षक मूर्ति तयार गर्नमा बित्छन् । उनको परिवारलाई नै मूर्ति बनाउन भ्याइनभ्याइ छ । पहिले पशुपालन गर्ने जानकी श्रीमान्को मूर्तिकलाको सीप देखेर आफूले पनि सिको गरी श्रीमान्सरह दिनभर मूर्ति निर्माण गर्छिन्।
जानकी र पल्टुरामका सन्तान पनि मूर्तिकला सीपप्रति चासो गर्छन् । सुदृढ र व्यावसायिक आर्टिष्ट बन्न छोरी कृतिले फाइनआर्ट लाजिम्पाटमा कलासम्बन्धी विषयमा उच्च शिक्षा हासिल गरिरहेको बताउछन् बुबा पल्टुराम मगर । उद्योगमा पत्थर, सिमेन्ट, मार्बल, फाइबरबाट मूर्तिहरु निमार्णसँगै बिक्री भइरहेका छन् ।
न्यूनतम तीन हजारदेखि अधिकतम रु तीन लाखसम्ममा मूर्ति तयार हुन्छन् । कक्षा ९ मा अध्ययनरत छोरा प्रवीण पनि फुर्सदमा घरमै बुबाआमाको सिको गरिरहेका छन् । उनी चित्रकला र मूर्तिकला दुवै मन पराउँछन् । यसरी आफ्नो पेसा पुस्ता हस्तान्तरण गर्दै जाने र रुचि, ज्ञान सीपसहित मूर्ति व्यवसायमा लाग्ने हो भने परम्परागत पेसाको संरक्षणसँगै आर्थिकरुपमा सबल बन्न सकिन्छ ।