सुचना, समाचार र मनोरन्जन

इरानी राष्ट्रपति चढेको हेलिकप्टर दुर्घटना, कोही जीवित भएको संकेत नभेटिएको उद्धारकर्ताको भनाइ

काठमाडौं /

इरानी राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियान सवार हेलिकप्टर आइतबार दुर्घटना भएको छ ।

इरानको सरकारी सञ्चारमाध्यमका अनुसार दुर्घटनामा परेको हेलिकप्टरमा कोही जीवितै बचेको कुनै संकेत देखिएको छैन । समाचार एजेन्सी रोयटर्सका अनुसार एक इरानी अधिकारीले दुर्घटनामा हेलिकप्टर पूर्ण रुपमा जलेको बताएका छन् ।

इरानको सरकारी सञ्चारमाध्यमका अनुसार उद्धारकर्मी घटनास्थलमा पुगेका छन् । इरानको रेड क्रिसेन्ट सोसाइटीका प्रमुखले अवस्था राम्रो नभएको बताएका छन् । यो दुर्घटना भएको ठाउँको मौसम निकै खराब छ । जसका कारण उद्धार टोलीलाई घटनास्थल पुग्न कठिनाइ भएको थियो ।

टर्किएले राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनास्थल पत्ता लगाउन ड्रोन पठाएको थियो। टर्कीको समाचार एजेन्सी अनादोलुले एक ठाउँमा पत्ता लागेको गर्मीको स्रोतको तस्बिर साझा गरेको छ।

तातोको स्रोत भनेको कुनै ठाउँबाट आगो वा अत्याधिक गर्मी बढ्नु हो। हेलिकप्टर दुर्घटना हुँदा त्यसबाट निस्केको आगो वा धुवाँले यस्तो भएको मानिएको छ । टर्किएद्वारा प्राप्त यो जानकारी इरान संग साझा गरिएको छ। अनाडोलुले राति ड्रोनले रेकर्ड गरेको भिडियो पनि सार्वजनिक गरेको छ ।

राष्ट्रपति रायसी क्विज कालासी र खोडाफरिन बाँधको उद्घाटन गर्न अजरबैजान गएका थिए । उक्त उद्घाटनपछि उनी तबरिज सहरतर्फ लागेका थिए । बरिजताज इरानको पूर्वी अजरबैजान प्रान्तको राजधानी हो। यही क्रममा बाटोमा कुनै ठाउँमा हेलिकप्टर दुर्घटनामा परेको थियो ।

हेलिकप्टरले हार्ड ल्याण्डिङ गरेको क्षेत्र तबरिजज सहरबाट ५० किलोमिटर टाढा भार्जेकन सहर नजिक छ। हेलिकप्टर दुर्घटना भएको स्थानमा बाक्लो कुहिरो रहेको बताइएको छ । उद्धार टोलीसँग उपस्थित एक पत्रकारले पहाड र घना जङ्गलमा पाँच मिटरसम्म मात्रै भिजिबिलिटी रहेको बताए ।

टर्कीले ड्रोनमार्फत घटनास्थलको जानकारी दिएको छ । रुसी सरकारी सञ्चारमाध्यमका अनुसार उद्धारका लागि ४७ विशेषज्ञको टोली र एक हेलिकप्टर पठाइएको छ । यो टोलीले कुहिरो हटेपछि काम सुरु गर्न सक्नेछ । युएईले पनि सहयोग गरेको छ ।

अमेरिकी सिनेटर चक शुमरले अमेरिकी गुप्तचर एजेन्सीका अधिकारीहरूसँगको कुराकानीले हाल कुनै षड्यन्त्र भएको भन्न सकिने कुनै प्रमाण नभएको बताएका छन् । शुमरले अवस्थाको अनुगमन गरिरहेको बताए ।

पत्रकार सम्मेलनमा उनले भने, ‘उत्तर–पश्चिम इरानमा जहाँ यो हेलिकप्टर दुर्घटना भयो त्यहाँ मौसम निकै खराब थियो । यस्तो अवस्थामा यो दुर्घटना जस्तो देखिन्छ तर यसको पूर्ण अनुसन्धान हुन बाँकी छ ।’

केही इरानीहरूले सामाजिक सञ्जालमा काफिलाका दुई हेलिकप्टर सकुशल पुग्ने र राईसीको हेलिकप्टर दुर्घटना कसरी भयो भन्ने प्रश्न उठाइरहेका छन् ।

उडान भर्नुअघि अजरबैजानका राष्ट्रपति इल्हाम अलिएभसँगै राष्ट्रपति इब्राहिम रायसीले दुई देशको सीमामा रहेको बाँधको उद्घाटन गरेका थिए । यी दुईको तस्बिर सामाजिक सञ्जालमा पनि शेयर भइरहेको छ।

राष्ट्रपति अलीयेभले संकटको यो घडीमा इरानलाई हरेक सहयोग गर्न अजरबैजान तयार रहेको बताएका छन् । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले इरानी राष्ट्रपतिको हेलिकप्टर दुर्घटनाको रिपोर्टको अनुगमन गरिरहेको बताएका छन् ।

अयातोल्लाह खामेनीले भने, इरानको प्रशासन यो दुर्घटनाबाट प्रभावित हुने छैन। जनताले चिन्ता नलिनुस्, सरकारी काम प्रभावित नहोस् । दुर्घटनापछि खामेनीले राष्ट्रिय सुरक्षा परिषद्को आपतकालीन बैठक पनि गरेका थिए ।

बीबीसीका प्रमुख अन्तर्राष्ट्रिय संवाददाता लुइस डुसेटका अनुसार इब्राहिम रायसीलाई के भएको हो भन्ने बारेमा कुनै जानकारी छैन। तर यदि रायसीको हत्याको बारेमा जानकारी बाहिर आयो भने, यसले इरानको विदेश वा आन्तरिक नीतिहरूमा थोरै प्रभाव पार्नेछ।

इरानमा सर्वोच्च नेतासँग सबैभन्दा बढी शक्ति छ। सर्वोच्च नेताले मात्र नीतिहरू तय गर्छन्। तर, रायसीलाई खामेनीको उत्तराधिकारीको रूपमा पनि हेरिएको थियो।

बीबीसी पर्शियन सर्भिसका जियार गोलका अनुसार इरानीहरूले रायसीलाई गम्भीरतापूर्वक लिँदैनन्, त्यसैले २०२२ मा विरोध प्रदर्शन हुँदा राइसीविरुद्ध नाराहरू कमै सुनिन्थ्यो। त्यसबेला प्रदर्शनकारीको निशाना खामेनी थिए ।

मध्यपूर्व मामिलाका जानकार जेसनका अनुसार राईसीको मृत्यु भएमा सर्वोच्च नेता नै राष्ट्रप्रमुख र सरकार प्रमुख रहनेछन् । इरानको संविधानको धारा १३१ अनुसार राष्ट्रपतिको मृत्यु भएमा वा पद छाडेमा त्यस्तो अवस्थामा उपराष्ट्रपति ९मोहम्मद मुखबर० निर्वाचन नभएसम्म राष्ट्रपति बन्नेछन् । ५० दिनभित्र नयाँ राष्ट्रपति चयन गर्नुपर्नेछ ।

को हुन् रायसी ?

रायसीको जन्म सन् १९६० मा उत्तरपूर्वी इरानको पवित्र सहर मशहदमा भएको थियो। यस शहरमा शिया मुस्लिमहरूका लागि सबैभन्दा पवित्र मानिने मस्जिद पनि छ। उनी सानै उमेरमा उच्च पदमा पुगेका थिए।

राईसीका बुबा मौलवी थिए। राईसी पाँच वर्षका हुँदा उनका बुवाको निधन भयो । उनी एक धार्मिक विद्वान र वकिल पनि थिए। शिया धार्मिक नेताहरूको पदानुक्रममा, उनलाई धार्मिक नेता अयातोल्लाह भन्दा एक क्रम तल मानिन्छ।

जब इब्राहिम रायसीले जुन २०२१ मा इरानमा सत्ता लिए, उनले घरेलु स्तरमा धेरै चुनौतीहरूको सामना गरे। आफ्नो बुबाको बाटो पछ्याउँदै, राईसीले १५ वर्षको उमेरमा कोम सहरमा रहेको शिया संस्थानमा अध्ययन गर्न थाले।

केवल २० वर्षको उमेरमा, उनी तेहरान नजिकै रहेको काराजको अटर्नी जनरल नियुक्त भए। रायसी सन् १९८९ देखि १९९४ सम्म तेहरानका अटर्नी जनरल र त्यसपछि सन् २००४ देखि अर्को दशकसम्म न्यायिक प्राधिकरणका उपप्रमुख थिए।

सन् २०१४ मा उनी इरानको अटर्नी जनरल बने । इरानी न्यायपालिकाको प्रमुख रहेका रायसीको राजनीतिक विचारलाई ‘चरम कट्टरपन्थी’ मानिन्छ। उदारवादी हसन रुहानीलाई प्रतिस्थापन गर्दै राईसी जुन २०२१ मा इस्लामिक गणतन्त्र इरानको राष्ट्रपति निर्वाचित भएका थिए।

Leave A Reply

Your email address will not be published.