पोखरा /
पोखरा महानगरपालिकाले आईसीसी टि–२० विश्वकप क्रिकेटको नवौँ संस्करणको नेपाल र नेदरल्याण्डबीचको ऐतिहासिक खेल नेपालकै ठुलो एलइडी बोर्डमा देखाउने भएको छ ।
महानगरले परिचय एड्भर्टाइजिङ प्रा.लि.र एस.के. साउण्ड सिस्टमको सहकार्यमा उक्त ऐतिहासिक खेल राती ९ बजेबाट पोखराको पृथ्वीचोकमा रहेको नेपालकै ठुलो एलइडी बोर्डमा देखाउने भएको हो।
टि–२० विश्वकप क्रिकेटको नवौँ संस्करणको खेलहरु संयुक्त राज्य अमेरिका र वेष्टइण्डिजमा जारी छ । नेपालले समूह चरणको पहिलो खेलमा आज मंगलबार नेदरल्याण्डसँग खेल्दैछ । यसको प्रत्यक्ष प्रसारण राति ९ बजेबाट ठुलो एलइडी बोर्डमा देखाउन लागेको परिचय एड्भर्टाइजिङ प्रा.लिका संचालक सोभित बस्यालले जानकारी दिए।
नेपाल सन् २०१४ पछि टि–२० विश्वकप खेल्न लागेको छ । क्रिकेटप्रेमी दर्शकलाई सहज तरिकाबाट खेल देखाउन सकियोस् भन्ने उद्देश्यले ठुलो एलइडी बोर्डको व्यवस्था गरिएको पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले बताए ।
प्रमुख आचार्यले क्रिकेट खेल हेर्नका लागि सम्पूर्ण पोखरेली क्रिक्रेटप्रेमीलाई आमन्त्रण समेत गरेका छन्।
यस्तै परिचय एड्भर्टाइजिङ प्रा.लि.ले आफनो सामाजिक उत्तरदायित्व अन्तर्गत कतारमा सम्पन्न विश्वकप फुटबल–२०२२ को फाइनल खेल एलइडी बोर्डमा प्रदर्शन गरेको थियो।