सुचना, समाचार र मनोरन्जन
IVF New Banner

महासचिव गुटेरेस आज सोलुखुम्बु र पोखरा आउने

काठमाडौँ/

नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस आज सोलुखुम्बु र पोखरा जाँदै छन ।

जलवायु परिवर्तनको असरबारे बुझ्न उनी सोलुखुम्बुको स्याङ्बोचे पुग्ने कार्यक्रम छ । त्यसपछि काठमाण्डौ फर्केर ललितपुरको यूएन हाउसको कार्यक्रममा सहभागी हुनेछन । त्यसपछि गुटेरेस पोखरा उड्ने र राति पोखरामै बस्ने कार्यक्रम छ । उनी भोलि बिहान अन्नपूर्ण सर्किट अवलोकनपछि पोखरा फर्केर पुरानो विमानस्थलमा पत्रकार सम्मेलन गर्नेछन। त्यसपछि भोलि नै गौतम बुद्धको जन्मस्थल लुम्बिनीतर्फ जानेछन ।

लुम्बिनीबाट काठमाण्डौ फर्केर भोलि दिउँसो ४ बजेपछि सङ्घीय संसद्को दुवै सदनलाई सम्बोधन गर्ने कार्यक्रम छ । त्यसपछि संसद्कै परिसरमा पत्रकार सम्मेलन गर्नेछन । पर्सि बुधवार महासचिव गुटेरेस आफ्नो चारदिने भ्रमण पूरा गरी फर्कने कार्यक्रम छ ।

Exchange and test

राष्ट्रसङ्घ महासचिवको सम्मानमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिजो बेलुकी रात्रिभोजको आयोजना गरेका थिए । त्यस अवसरमा प्रधानमन्त्री प्रचण्डले २०७२ सालमा संविधानसभाले संविधान जारी गरेपछि सङ्घीय प्रणालीका तीनवटै तहमा लोकतान्त्रिक निर्वाचनअन्तर्गत लगातार दुई चक्रमा भएका चुनावले नेपाललाई शान्ति, स्थायित्व, लोकतन्त्र तथा समृद्धिको मार्गमा अघि बढाएकोे बताए । शान्ति प्रक्रियाका बाँकी काम पूरा हुने क्रममा रहेका उनले जानकारी दिए ।

नेपाल आउनेबित्तिकै हिजो दिनभर उच्चस्तरीय भेटवार्तामा व्यस्त रहेका महासचिव गुटेरेसले अन्तर्राष्ट्रिय मापदण्ड, सर्वोच्च अदालतको आदेश र पीडितका आवश्यकताहरू पूरा गरी नेपालको शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्याय टुङ्गोमा पुग्नुपर्नेमा जोड दिएका छन । उनले अन्तिम चरणमा रहेको नेपालको शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्याय टुङ्गोमा पुर्याउन राष्ट्रसंघ सहयोग गर्न तयार रहेको पनि बताएका छन ।

कोभिड–१९ पछि उत्पन्न भएको अन्तर्राष्ट्रिय आर्थिक सङ्कट र जलवायु परिवर्तनको जोखिममा नेपाल पनि परेको भन्दै उनले जलवायु परिवर्तनको असर र जोखिममा रहेको नेपाललाई विकसित राष्ट्रले सहयोग गर्नुपर्ने बताए ।

महासचिव गुटेरेसले भम्रणका क्रममा नेपालका हिमाली भेगको अवलोकन गर्ने र जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेकोे गम्भीर असरलाई आफैँले अवलोकन गर्ने जनाउँदै जलवायु परिवर्तनका कारण प्रभावमा परेका समुदायसँग भेट्ने जानकारी दिएका छन ।

Leave A Reply

Your email address will not be published.