सुचना, समाचार र मनोरन्जन

प्रधानमन्त्री र चिनियाँ उपविदेशमन्त्रीविच भेटवार्ता

काठमाडौँ/

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेका चीनका उपविदेशमन्त्री सुन वेइतोङले शिष्टाचार भेटवार्ता गरेका छन्।

सिंहदरबारमा आज भएको भेटमा उनीहरूबीच द्विपक्षीय हित, आपसी चासो र सहकार्यका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले नेपालको आर्थिक सामाजिक विकासमा चीनले पुर्‍याउँदै आएको सहयोगप्रति खुशी व्यक्त गरे ।

उनले आगामी दिनमा नेपालले सन् २०२६ मा अति कम विकसित मुलुकबाट स्तरोउन्नती हुने उद्देश्य राखेको उल्लेख गर्दै त्यसलाई सफल तुल्याउनका लागि चीनको सहयोग आवश्यक पर्ने बताए ।

जनवादी गणतन्त्र चीनका उपविदेशमन्त्री सुनले सन् २०२५ मा नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाठका अवसरमा नेपालको पर्यटन प्रवर्द्धन र चिनीयाँ पर्यटकलाई नेपाल भ्रमण गर्न प्रेरित गर्ने उद्देश्यका साथ चीनले ‘भिजिट नेपाल–२०२५’ मनाउने निर्णय गरेको जानकारी गराए । उनले नेपालको आर्थिक–सामाजिक विकासमा चीनले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उपविदेशमन्त्री सुन नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६ औं बैठकमा भाग लिन आज नेपाल आएका हुन् ।

भेटमा नेपालका तर्फबाट प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा.रुपक सापकोटा, परराष्ट्र मन्त्रालयका अधिकारीहरूको उपस्थिती रहेको थियो । त्यसैगरी चीनका तर्फबाट नेपालस्थित चिनियाँ राजदूत छेन सङलगायतका उच्च अधिकारीहरु सहभागी थिए ।

Leave A Reply

Your email address will not be published.