सुचना, समाचार र मनोरन्जन

सरकारले ५२ वटा रोगलाई सङ्क्रामक रोग घोषणा गर्‍यो

काठमाडौँ/

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्क्रामक रोगको सूची तयार पारेको छ । सरकारले जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ४९ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी पहिलो पटक ५२ किसिमका रोगलाई समेटेर सङ्क्रामक रोगको सूची तयार पारेको हो ।

सङ्क्रामक रोगको सूचीमा रेबिज, क्षयरोग, कोभिड–१९, दादुरा, डेङ्गी, जापानिज इन्फेफलाइटिस, हैजा, धनुष्टङ्कार, एचआईभी, हात्तीपाइले, स्क्रबटाइफस, कालाजार, रुबेलालगायतका रोगहरू रहेका छन् ।

सङ्क्रामक रोग विशेषज्ञ डा.अनुप बास्तोलाले पहिलो पटक सङ्क्रामक रोगबारे सूचीकृत गरिएको बताउनुभयो । उहाँले ती रोगले हुनसक्ने समस्या, अन्तर्राष्ट्रिय स्वास्थ्य नियम र कानुनअनुसार सूचीकृत गरिएको जानकारी दिनुभयो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा कार्यरत डा। सागर दाहालका अनुसार ५२ वटालाई सरुवा रोग घोषणा गरेपछि अब यसको आधारमा रिपोर्ट र उपचार गर्ने व्यवस्था मिलाउन सहज हुन्छ । उहाँका अनुसार स्थानीय स्वास्थ्य संस्थामा ५२ मध्ये कुनै पनि रोग पत्ता लागेमा त्यसको जानकारी केन्द्र र प्रदेश सरकारलाई रिपोर्ट गर्नुपर्ने हुन्छ ।

Leave A Reply

Your email address will not be published.