कास्की/
निःशुल्क ईन्टरनेट पाएपछि पोखराका विद्यार्थीहरु उत्साहित भएका छन् । पोखरा महानगरपालिका–१२ नम्बर वडा कार्यालयले आइटी पढ्ने विद्यार्थीका लागि निःशुल्क ईन्टरनेटको व्यवस्था मिलाएपछि विद्यार्थीमा खुशी छाएको हो ।
वडा कार्यालयले ल्याएको नयाँ नीति अनुसार आइटी पढ्ने विद्यार्थीलाई निःशुल्क रुपमा ईन्टरनेट सुविधा उपलब्ध गराइने छ । ईन्टरनेटको सुबिधा प्राप्त भएपछि पढाईमा सहज भएको प्रजुल वास्तोलाले बताए । अहिले इन्टरनेटको माध्यमबाट देश बिदेशमा भएका घटना तथा विषय बस्तुको जानकारी पाउन सहज छ । कतिपय ठाउँमा इन्टरनेटको पहुँच पनि छैन । तर यहाँ भने विद्यार्थीलाई निस्शुल्क ईन्टरनेट उपलब्ध गराएर विद्यार्थीको पठनपाठनमा सहयोग पुर्याइएको छ, उनले भने । ईन्टरनेटको व्यवस्था भएपछि अध्ययनमा सहयोग पुगेको अर्का विद्यार्थी प्रवेश कार्कीले बताए ।
वडा कार्यलयले मातहतका विद्यालयहरुमा शिक्षण सिकाइ क्रियाकलापमा सूचना र सञ्चार प्रविधिको प्रयोग गर्ने अवधारणा अनुरुप वडाभित्रका विद्यालहरुमा ईन्टरनेट निःशुल्क उपलब्ध गराएको हो । नेपालकै नमूना विद्यालयमध्येमा पर्ने शितलादेवी सामुदायिक स्कुल, अमरसिंह उच्च माविलगायतका विद्यालयमा इन्टरनेट निशुल्क गरेको हो । वडाले नीति तथा कार्यक्रममै भौतिक पुर्वाधारभन्दा शिक्षा स्वास्थ्य र सामाजिक विकासलाई जोड दिएर नीति तयार गरेको हो ।
पोखरा– १२ नम्बर वडा कार्यालयले आईटी अध्ययन गर्ने विद्यार्थीहरुलाई निःशुल्क ईन्टरनेट सुरु गरेपछि अन्यत्रका वडा कार्यालयले पनि तयारी गरेको बुझिएको छ । पछिल्लो समय संचार प्रबिधिले अत्यन्तै फड्को मार्दै गएकाले त्यसको उपयोग गर्न र विद्यार्थीलाई प्रबिधिसंग जोड्न निशुल्क ईन्टरनेटको व्यवस्था मिलाइएको वडाध्यक्ष सन्तोष बास्तोलाले बताए । वडा कार्यालयले असोजदेखि सुरु गरेको उक्त सेवाका कारण विद्यार्थीहरुलाई विभिन्न विषयको खोज अनुसन्धान गर्न सहज भएको छ, उनले भने ।
शिक्षण र प्रविधिलाई जोड दिंदै वडाले विभिन्न सेवाहरु उपलब्ध गराउदै आएको छ । शिक्षण सँगसंगै संचार प्रविधि र यसबाहेक पनि गरिबीको रेखामुनि रहेका विद्यार्थीहरुका लागि विभिन्न कार्यक्रम छुट्याइएको वडासचिव महेश्वर अर्यालले बताए । वडाले वडाभित्र रहेका सुकुम्वासीहरुका लागि खानेपानी निःशुल्क गर्ने, सुत्केरी पोषण भत्ता दिने कार्यक्रम अगाडी बढाईएको छ, उनले भने ।