काठमाडौँ/
सभामुख देवराज घिमिरेले निर्माणाधिन संघीय संसदको भवन दुई महिनाभित्र निर्माण सम्पन्न गर्न निर्देशन दिएका छन्। मंगलबार शहरी विकास मन्त्रालयले संसद भवनभित्र प्रयोग गरिने प्रविधिहरुको सम्बन्धमा जानकारी दिन आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले संघीय संसदको मुख्य दुईवटा भवनहरु दुई महिनाभित्र निर्माण सम्पन्न गर्न निर्देशन दिएका हुन्।
आफ्नो चासो संसदको आगामी अधिवेशन नयाँ संसद भवनबाट चलाउने रहेको उल्लेख गर्दै उनले प्रतिनिधि सभा र राष्ट्रिय सभाका मुख्य बैठक कक्षमा आवश्यक प्रविधिहरु दुई महिनाभित्र जडान गरिसक्न आग्रह गरे। उनले सबै भवनहरुको निर्माण सम्पन्न नभए पनि बैठक बस्ने दुईवटा बैठक कक्षको भने प्राविधिक रुपमा सबै काम सक्ने गरी तयारी गर्न अनुरोध गरे।
त्यसैगरी उनले संसद भवनमा जडान गरिने प्रविधिहरुको बारेमा प्राविधिकहरुले जडान गर्दादेखि नै ज्ञान लिनुपर्ने उल्लेख गरे। उनले भविष्यमा आइपर्न सक्ने प्राविधिक समस्याहरुको बारेमा प्राविधिकहरुले अहिलेदेखि नै ज्ञान हासिल गर्नुपर्नेमा जोड दिए। सहरी विकासमन्त्री सीता गुरूङले संघीय संसद भवनमा नयाँ प्रविधिको जडान गरिने बताइन्। उनले भोलिको विश्वसँग तुलना गरेर नयाँ प्रविधिहरुलाई प्राथमिकता दिएर जडान गरिने उल्लेख गरिन्।
विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका आयोजना प्रमुख मचाकाजी महर्जनले संघीय संसद भवन निर्माणको काममा ७५ प्रतिशत प्रगति हासिल गरिसकिएको बताए। उनले १२ वटा भवनहरुमध्ये ७ वटा भवनहरुको छानासम्मको काम सम्पन्न भइसकेको जानकारी दिए। बाँकी ४ वटा भवनमा ट्रस्ट निर्माणलगायत छानाको काम अगाडि बढिराखेको उनले बताए।