काठमाण्डौं : धार्मिक, सांस्कृतिक, र ऐतिहासिक गुठी सम्पत्तिको संरक्षण, व्यवस्थापन र सञ्चालनका निम्ती स्थापित स्वायत्त निकाय हो, ‘गुठी संस्थान’ ।
![Safal](https://parichaya.com/wp-content/uploads/2025/01/musthead-1.jpg)
स्वायत्त भएता पनि कुशल प्रशासकीय नेतृत्वको अभावमा यस संस्थानको ऐतिहासिक महत्व ओझेलमा पर्दै आएको थियो ।
तर, गुठी प्रशासकका रुपमा शैलेश राज कुँवरले प्रशासकीय नेतृत्व लिएसँगै संस्थानले ‘काँचुली’ फेर्न थालेको छ ।
कुँवर संस्थानको नेतृत्वमा पुगेको बर्षदिन पनि भएको छैन । तर, नेतृत्वमा आफुले ‘लिड’ गरिरहेको संस्थाको चौतर्फी बिकास र व्यवस्थित गर्ने दृढ इच्छाशक्ति भएमा छोटो समयमै धेरै गर्न सकिन्छ भन्ने एउटा गतिलो उदारहण बनेका छन्, गुठी प्रशासक कुँवर ।
कुँवरले कार्यभार सम्हाल्दा गुठी संस्थान सूचना प्रविधीमा अस्तव्यस्त थियो । कार्यालयको वेभसाइट भएपनि ‘विरालो बाँधेर श्राद्ध’ गर्ने भने जस्तै थियो । प्रविधीमैत्री थिएन । नगदी रसिद काटिन्थ्यो । कार्यालयका फाइलहरु अनलाइन प्रणालीमा राखिने चलन नै थिएन । फाइल हराउने देखि खोजेको समयमा नभेटिने गरेको जस्ता गुनासा बाक्लै आउथ्यो । संस्थान सम्बन्धी आवश्यक ऐन, कानुन र सूचना प्राप्त गर्नका लागि आम सेवाग्राहीहरुका लागि त्यती सहज थिएन ।
उनले संस्थानको प्रशासकीय नेतृत्व लिएसँगै सुरुमा यि तमाम समस्या र कमिकमजोरीहरु सुधार्ने सोच लिए । मातहतका सबै कर्मचारीहरु सँग आवश्यक छलफल गरे । अनि, तत्कालै संस्थानलाई प्रविधिमैत्री बनाउन गर्नुपर्ने कामहरुको लिष्टिङ तयार पारे । त्यसका लागि आवश्यक बजेटको स्रोत, कार्ययोजना र रणनीति तय भयो । सोही अनुसार अहिले धमाधम काम भईरहेको छ ।
कार्ययोजना तयार भएर काम थालेको छोटो समयमै कार्यालयले सूचना तथा प्रविधीमा उल्लेखनीय प्रगति गरिसकेको छ ।
‘आजको युगमा विज्ञान प्रविधिको हो । त्यसैले यसमा जो अगाडी छ । जस्ले यसको भरपुर प्रयोग गर्दछ त्यसले नै छोटो समयमै थुप्रै महत्वपूर्ण सफलता र उपब्लिध हासिल गर्छ । चाहे त्यो विश्वको जुनसुकै देश होस्, व्यक्ति होस् वा सरकारी, गैरसरकारी संस्था नै किन नहोस्’, कुँवरको बुझाई छ ।
कुँवरको यही बुझाईले ‘गुठी संस्थान’ लाई उदारणीय प्रविधिमैत्री सरकारी कार्यालयको रुपमा स्थापित गर्दैछ ।
संस्थानको सूचना तथा प्रविधि शाखामा कार्यरत सव-ईन्जिनीयर सुदिप खड्काका अनुसार अहिले कार्यालयले नयाँ व्यवस्थित वेभसाइट देखि महत्वपूर्ण सिष्टम ल्याइसकेको छ । जसले सेवाप्रवाहलाई छिटो छरितो मात्रै नभएर पारदर्शी बनाउछ ।
वेभसाइटमा अन्य सरकारी कार्यालयहरुको भन्दा फरक डिजाइन र पृथक बिषयबस्तु राखिएको छ । जहाँ कार्यालयको विस्तृत परिचय, ऐन कानुन, पर्वहरु बारे जानकारी, सम्पूर्ण कार्यालय र कर्मचारीको विवरण देखि अनलाईन गुनासो गर्न सक्ने सम्मको सुविधा छ ।
‘अहिलेको समयमा वेभसाइट भनेको कार्यालयको आँखी झ्याल हो । त्यसैले हामीले त्यसमा कार्यालय सम्बन्धि हरेक सूचना तथा विवरणहरु सहजै सबै सेवाग्राहीहरुले हेर्न सक्ने गरि डाटाहरु राख्दैछौँ । अहिले काम भईरहेको छ । यस्लाई अझै उत्कृष्ट बनाउने गरी डेभलप गरिरहेका छौँ’, खड्काले सुनाए ।
कार्यालयले कूतवाली तथा मालपोत देवश्व अशूली लाई पनि अनलाईन मार्फत गर्दैछ भने घर नक्सा सिफारिस पनि अनलाईन मार्फत नै हुने व्यवस्था गर्दैछ ।
त्यसका लागि (GBBS) र (GLMS) सिष्टम परिक्षण गरेर कार्वान्वन गर्ने तयारीमा छ ।
![IVF Post](https://parichaya.com/wp-content/uploads/2024/12/fishtail-ivf-2-scaled.jpg)
‘उपत्यका भित्रका गुठी संस्थान शाखा कार्यालयहरुमा कूतवाली तथा मालपोत अशूलीको अनलाईन सफ्टवेयरको परीक्षण भईरहेको छ । सम्भवतः आगामी माघदेखि मातहतका सबै कार्यालयहरुमा र त्यसपछि मालपोत कार्यालयहरुमा पनि सञ्चालनमा आउने ल्याउनेछौँ’, संस्थानका प्रवक्ता हरि प्रसाद सुवेदी भन्छन् ।
संस्थान मातहतको हरेक कार्यालयमा सिसिटिभी अनिवार्य राखिँदैछ । डिजिटल सूचनापाटी स्थापना गरिँदैछ । ई-हाजिरी सिष्टम पनि लागु हुँदैछ । जसको मनिटर्रनिङ केन्द्रिय कार्यालयले गर्नेछ । र, मातहतका कर्मचारीहरुले काममा ढिलासुस्ती गरे वा विदामा वाहेक अन्य दिन कार्यालय आएनन् भने केन्द्रिय कार्यालयले सिधै स्पष्टिकरण सोधेर आवश्यक कारवाही गर्नेछ ।
यस्तै, संस्थानले एकपटक कार्यालयमा आएपछि अर्काेपटकबाट घरबाटै सहजै थुप्रै सुविधाहरु लिन सक्ने सिष्टम ल्याउने तयारीमा छ ।
सव-ईन्जिनीयर खड्का भन्छन्, ‘एकपटक सेवाग्राहीले आफ्नो लालपुर्जा, नागरिकता र देवश्व तिरेको रसिद लिएर कार्यालय आउनु भयो भने अर्काे पटकबाट उहाँहरुले देवश्व तिर्न, घर नक्सा बनाउन कार्यालय आइराख्नै पर्दैन । सबै अनलाईनबाटै घरमै बसिबसि गर्न सक्ने बनाउने तयारीमा छौँ ।’
प्रविधिमैत्री बनेसँगै बढ्दैछ देवश्व
गुठी संस्थानको प्रमुख आयस्रोत भनेको तैनाथी जग्गा हो ।
जसबाट प्राप्त आम्दानी रकमलाई संस्थानले आफ्नो कार्यक्षेत्रमा पर्ने मठ मन्दिरको संरक्षण, धार्मिक गतिविधि, र सामाजिक काममा प्रयोग गर्ने गर्छ । सँगै, घर नक्सा सिफारिस शुल्क, कुतवाली तथा मालपोत अशुलीबाट संस्थानको मुख्यः देशव्व आर्जनका स्रोतहरु हुन ।
त्यसको अभिलेखिकरण व्यवस्थित नहुँदा र नगदी रसिद प्रणली रहँदासम्म संस्थानको आयव्याय पारदर्शी नहुने गरेको कार्यालयका पुराना कर्मचारीहरु नै बताउँछन् ।
तर, अहिले गुठी संस्थानमा देवश्व अनलाईन प्रणालीबाटै भुक्तानी गर्ने सिष्टम लागु हुँदैछ छ । नगद रसिद काट्ने प्रचलनको अन्त्य भइसक्यो । जसका कारण संस्थानको आय बढ्न थालेको छ ।
‘प्रविधीमैत्री बन्दा हरेक कामहरु पारदर्शी हुनेछ । कर्मचारीहरुले पनि गलत नीयत राखेर चलखेल गर्न सक्ने अबस्था हुँदैन । किनकी, हरेक कुरा सिष्टम अनुसार नै हुन्छ । त्यसैले देवश्व स्वतः बढ्नेछ’, प्रशासक कुँबर भन्छन् ।
कार्यालयले सेवाशुल्क तथा भुक्तानी रकम अनलाईन प्रमाणलीबाट मात्रै लिन थालेपछि गत २०८० असोज २१ गतेदेखि असार मसान्तसम्म घर नक्सा सिफारिस शुल्क वापत मात्रै ७० लाख रुपैँया भन्दा बढि आम्दानी गरेको जनाएको छ । यस बर्ष पनि उक्त शिर्षकमा २० लाख रुपैँया भन्दाबढि आम्दानी गरिसक्यो । अन्य, शिर्षकमा पनि पहिलेका बर्षमा भन्दा प्रविधीमैत्री बनेपछि आयस्रोत बढेको कार्यालयले जनाएको छ ।
संस्थानको दिर्गकालिन हित र बिकासका निम्ती आफुले रहसम्भवः प्रयास गर्ने कुँबरको प्रतिबद्धता छ । जसमा कर्मचारीहरुले पनि खुलेर साथ दिएका छन् ।
कर्मचारीहरुलाई पनि संस्थानले आवश्यक तालिम दिइरहेको छ । रिक्त पदमा समयमै पदपुर्ती हुन नसक्दा कम जनशक्तिले काम गर्नुपर्ने बाध्यता ‘ज्युँ का त्युँ’ छ । त्यसका लागि कर्मचारी विनियम जतिसक्दो छिटो पास गराएर सहज वातावरण बनाउनका निम्ती प्रशासक कुँबरले चर्काे दौडधुप गरिराखेका छन् । कर्मचारीहरु पनि छिट्टै विनियम पास भएर पदपुर्ती हुने आशमा छन् ।
यद्यपी, प्रविधिमैत्री हुँदै कम जनशक्तिले पनि सेवाप्रवाहलाई चुस्तदुरुस्त बनाउन कुँवरको नेतृत्वमा कर्मचारीहरु लागिपरेका छन् ।
‘कार्यालयलाई एक्कासी प्रविधिमैत्री बनाउन जटिल त छँदैथ्यो । तर, कुँबर सरले नेतृत्व लिएपछि आवश्यक तालिम लिएर काम गर्न थालेपछि सजिलो र छिटो पनि भएको छ’, कार्यालयमा कार्यरत एक कर्मचारीले भने, ‘कतिपय नयाँ कर्मचारीहरु त उत्त्साहित छन् । पुरानाहरु जे कहिल्यै प्रविधिको प्रयोग गर्ने गरेका थिएनन् । उनीहरुले पनि सुरुमा अप्ठ्यारो मानेपनि तालिम लिएर काम थालेपछि खुसी नै छन् ।’