सुचना, समाचार र मनोरन्जन

४ महिनादेखि अवरुद्ध तमानखोलाको सडक खुल्यो

ढोरपाटन/

वर्षाका कारण खोलामा पानीको बहाव बढ्दा तमानखोला गाउँपालिकाका मुख्य तथा शाखा सडक चार महिनादेखि अवरुद्ध थिए । असारदेखि खोला र पहिरोका कारण अवरुद्ध भएका सडक गाउँपालिकाले खुलाउन थालेको छ ।

पहिरोले क्षति पुर्‍याएका सडक वर्षा रोकिने बित्तिकै खुलाएर गाडी सञ्चालन गरे पनि खोलामा पानीको सतह नघट्दा खुङ्खानी, नर्जाखानी, तमान लाम्मेला लगायतका गाउँबाट पालिकाको केन्द्र बोङ्गादोभान आउन समस्या थियो । गाउँपालिकाले सोमबादेखि अवरुद्ध सबै सडक सञ्चालनका लागि मेसिन प्रयोग गरेको छ । खोलामा ढुङ्गा हालेर यातायातका साधान वारपार गर्ने सक्ने बनाइएको छ ।

चार महिनापछि सडक सञ्चालनमा आएपछि स्थानीयमा खुसी छाएको छ । बोङ्गादोभान बजार हुँदै पालिकाका सबै वडामा पुग्नुपर्छ । बोङ्गादोभानकै छेउमा बोङ्गाखोला र तमानखोला बग्ने हुँदा वारपारमा निकै समस्या थियो । वडा नं २ को खोलेस्बाङबाहेक सबै वडामा पुग्न खोला पार गर्नुपर्ने हुँदा वर्षातका चार महिना सिधा यातायात हुन सकेन ।

बोङ्गाखोलामा मोटरेबल पुल निर्माण हुन थालेको वर्षौं बितिसक्दा पनि अहिलेसम्म काम नसकिँदा यात्रुले सास्ती खेप्नु परेको छ । बोङ्गाखोलामा पुल बने वडा नं ३ को तमान र ४ को लाम्मेलाबाहेक अन्य वडामा बर्खामा पनि सिधा यातायात सञ्चालन हुन सक्थ्यो ।

दुई वर्ष अगाडिसम्म बुर्तिबाङ बजारदेखि बोङ्गादोभानसम्म पुग्न दुई स्थानमा गाडी परिवर्तन गर्नुपर्थ्यो । ढोरपाटन नगरपालिका–४ हुद्राफेँदी र भालिबाङ खोलामा दुई मोटरेबल पुल निर्माण भएपछि बाह्रै महिना यातायात सञ्चालन हुन थालेको छ । अहिले पालिकाको केन्द्रदेखि वडा नम्बर २ को खोलेस्बाङबाहेक अन्य सबै वडामा बर्खामा सिधा यातायात सञ्चालन हुन सक्दैन ।

वडा नम्बर ३ को तमान गाउँ र लाम्मेला बुर्तिबाङदेखि खुङ्खा हुँदै सञ्चालन भए पनि पालिकाको केन्द्र बोङ्गादोभानदेखि भने हुन सक्दैन । करिब चार महिना सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य सामान ढुवानी तथा यात्रा गर्न निकै समस्या भोग्नुपरेको स्थानीय शेरबहादुर सिर्पालीले बताए ।

तमानखोला–५ का सिर्पालीले गाउँको सडक निकै साँघुरो र अप्ठ्रायो रहेको भन्दै हिउँदमा जसोतजो गाडी चले पनि बर्खामा ठप्प हुने गरेको बताए । सडकले गाउँमा नजोडिँदा हिँडेरै बजार पुग्ने र सामान बोकेरै ल्याउने गरेको सुनाउँदै उनले सडक आए पनि अहिले खोलाहरुमा पुल नबन्दा पहिलेको जस्तै हिँड्नु पर्ने अवस्था रहेको सिर्पालीले गुनासो पोखे ।

पहिले गाउँमा नुन, चामल ल्याउनु परे घोडा खच्चडको प्रयोग गरेको भन्दै गाउँ सडकले जोडिएपछि घोडाखच्च विस्थापित हुँदा मान्छेले नै बोक्नु परेको उनको भनाइ छ ।

‘गाउँमा सडक आयो अब त भारी बोक्न नपर्ला, टाढा–टाढा जाँदा गाडीमै चढेर जान पाइएला भनेका थियौँ, तर बर्खामा त्यो सुविधा पाएनौँ, त्यस बोल अहिलेको जस्तो यस्तो ठूला–ठूला सडक थिएनन्, साना गोरेटो बाटोमा हिँड्थ्यौँ, घोडाखच्चड पनि तिनै बाटोमा हिँड्थे’, सिर्पालीले भने, ‘टाढा जानु पर्‍यो भने घोडा चढेर जान्थ्यौँ, अहिले गाडी घरमै पुगेका छन्, तर बर्खामा चल्दैनन् ठूलो पुल चाहियो, पहिला काठको पुल बनाएर खोला तथ्र्यौं, खोला तर्दा धेरैले ज्यानसमेत गुमाए, गाउँगाउँमा सडक पुगेपछि मान्छेले खच्चड पाल्न छाडे, भारी मान्छेले नै बोक्नु पर्‍यो ।’

तमानखोला–६ नर्जाखानी सबैभन्दा टाढाको वडा हो । बोङ्गादोभानदेखि नर्जाखानी, पात्ले र भित्रीवन पुग्न पाँच मोटरेबल पुलको आवश्यक पर्छ । वडा नं ५ को खुङ्खानी तीन, पहिरा तीन, स्याउला र हिजा पुग्न एउटा पुल तर्नुपर्छ ।

अहिलेसम्म कुनै पनि स्थानमा पुल नबन्दा स्थानीय मर्कामा छन् । स्थानीय तिलबहादुर घर्तीले बर्खामा गाडी नचल्दा बिरामीलाई अस्पताल पुर्‍याउन र सामान ढुवानी गर्न सबैभन्दा बढी समस्या हुने गरेको बताए । यहाँका धेरै गाउँ खोला पार गरेपछि मात्रै पुग्न सकिने हुँदा अहिलेसम्म एउटा पनि बन्न नसकेको घर्तीको गुनासो छ ।

Leave A Reply

Your email address will not be published.