काठमाडौं /
राष्ट्रिय लोकदोहोरी अवार्ड २०८० को उत्कृष्ट निर्देशकको अवार्ड प्राप्त गरेका निर्देशक एकिन्द्र साराशंकरलाई गण्डकी प्रदेश संसदहरुले सम्मान गरेका छन् । बागलुङ बुर्तिबाङमा आयोजित दशैं तिहार विशेष मेलाको अवसरमा गण्डकी प्रदेशका संसदद्वय दोर्ण कुँवर र दीलमाया पौवीले संयुक्त रुपमा सम्मान गरेका हुन् । स्थानीय राइजिंग युवा क्लबले संसदद्वयबाट सम्मान गर्ने कार्यक्रमको आयोजना गरेको थियो ।
केही समय अगाडि मात्रै राष्ट्रिय लोक दोहोरी अवार्ड २०८० को उत्कृष्ट निर्देशकको रुपमा अवार्ड प्राप्त गरेका साराशंकर बागुलङ तमानखोला गाउँपालिकाका स्थानीय हुन् । आफ्नो क्षेत्रको प्रतिभाले नेपालमै उत्कृष्ट निर्देशकको अवार्ड प्राप्त गरेको भन्दै संसदहरुले उनलाई सम्मान गरेको आयोजक बुर्तिबाङ राइजिंग युवा क्लबका अध्यक्ष मिथुन विश्वकर्माले बताए । एकिन्द्र सारा शंकरले आफ्नो प्रतिभामार्फत बागलुङ र यस क्षेत्रको नाम उँचो बनाउनुभएको छ । र, हामीले दशैं तिहार विशेष मेलाको अवसर पारेर यसै क्षेत्रका माननीय ज्यूहरुको हातबाट उहाँलाई सम्मान गरेका हौँ । क्लबका अध्यक्ष विश्वकर्माले भने ।
सम्मान गर्दै संसदद्वय कुँवर र पौवीले साराशंकरको अझै प्रगतीको कामना गरे । साथै लोक गीत संगीतको क्षेत्रबाट बागलुङको निर्वाचन क्षेत्र नम्बर २ लाई पनि अझै प्रचार गर्न जरुरी रहेको र स्थानीय लोकभाकाहरुलाई मुलधारमा ल्याउन आवश्यक रहेको उनीहरुले बताएका थिए ।
आफ्नै गाऊँठाऊँमा सम्मानित हुन पाउँदा आफूलाई निकै खुशी लागेको साराशंकरले बताए । यो मेरो लागि अहोभाग्य हो । म जन्मिएको र हुर्किएको ठाऊँको क्लबसँगै यसै क्षेत्रका माननीयहरुले मेरो प्रतिभालाई कदर गर्दै जुन सम्मान प्रदान गर्नुभयो त्यसको लागि म आभारी छु । यो सम्मानले लोक गीतसंगीतको क्षेत्रमा अझै धेरै काम गर्नुपर्ने जिम्मेवारी थपेको मैले महशुस गरेको छु । साराशंकरले भने ।
साराशंकर विगत एक दशकभन्दा बढि समय देखि लोक गीतसंगीतको विभिन्न विधामा आफूलाई व्यस्त गराईरहेका छन् । निर्देशन, मोडलिंग, कोरियोग्राफिसँगै अभिनेता र गीतकारको रुपमा आफूलाई अब्बल साबित गरिसकेका छन् ।