सुचना, समाचार र मनोरन्जन

कम खर्चमा चुनाव लडेको दाबी गर्दै नीशा अधिकारीले सार्वजनिक गरिन् खर्च विवरण

काठमाडौं :

काठमाडौं क्षेत्र नम्बर ५ बाट संसदीय चुनाव लडेकी अभिनेत्री निशा अधिकारी ले आफ्नो चुनावी खर्चको विवरण निर्वाचन आयोग मा बुझाएकी छन्। उनले शुत्रबार चुनावी खर्च आयोगमा बुझाएकी हुन्।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ तथा आयोगले स्वीकृत गरेको निर्वाचन आचारसंहिताअनुसार उनले आयोगमा चुनावी प्रचारप्रसार र व्यवस्थापनमा भएको खर्च विवरण पेस गरेकी बताएकी छन्।

निशाले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको विवरण अनुसार उनको चुनावी अभियानमा ७ लाख ७६ हजार ९२१ रुपैयाँ खर्च भएको छ। सबैभन्दा बढी खर्च सामाजिक सञ्जाल विज्ञापन र डिजाइनमा भएको देखिएको छ। उनले सार्वजनिक गरेको यसको खर्च सबैभन्दा बढि अर्थात करिब २ लाख ५० हजार रुपैयाँ खर्च भएको उल्लेख छ। यसबाहेक कार्यालय सञ्चालन, सवारी साधन, फोटो–भिडियो निर्माण लगायतमा पनि उल्लेख्य रकम खर्च भएको विवरणमा जनाइएको छ।

उनले चुनावी खर्चसँगै निर्वाचन(कसूर तथा सजाय) ऐन, २०७३ को दफा ३१ बमोजिम आम्दानीको विवरण पनि आयोगमा बुझाएकी छन्। सो विवरण अनुसार उनले आफू उम्मेदवार बनेको गतिशील लोकतान्त्रिक पार्टी बाट २ लाख रुपैयाँ, व्यक्तिगत सहयोगबाट ५ लाख ४९ हजार ६७ रुपैयाँ र उम्मेदवारको तर्फबाट २७ हजार ८५५ रुपैयाँ प्राप्त गरेको उल्लेख गरेकी छन्।

गत माघ ६ गते उम्मेदवारी दर्ता गरेपछि उनले पाँच बुँदे एजेन्डासहित काठमाडौं–५ मा चुनावी अभियान चलाएकी थिइन्। तर, अपेक्षाअनुसार मत पाउन नसकेपछि उनको जमानत जफत भएको थियो। उनले उक्त निर्वाचनमा ९१ मत मात्र प्राप्त गरेकी थिइन्। चुनावमा पराजयपछि उनी यतिबेला फिल्म ‘कस्तुरी’को सुटिङ सेटमा पुगिसकेकी छन्।

Leave A Reply

Your email address will not be published.