काठमाडौं: जाडोबाट जोगिन नागरिक दाउरा वा घुर बालेर आगो ताप्ने बढेका छन्।
विशेषगरी बाक्लो हुस्सु, कुहिरो र शीतलहरले तराईको जनजीवन प्रभावित पारिरहेका बेला आगो ताप्नेक्रम पनि बढेको छ। त्यसरी आगो ताप्दा थाहै नपाई लगाएको कपडाबाट आगो सल्किएर मानिसको ज्यानसमेत गएका घटना आइरहेका छन्।
केही दिनअघिमात्रै आगो ताप्दा कपडामा सल्किएर दुई जनाको मृत्यु भएको थियो। पछिल्लो २४ घण्टामा मात्रै त्यसरी आगो लाग्दा कपडामा आगो सल्किएर चार जनासहित पाँच जना घाइते भएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार चिसो बढेसँगै आगलागीका घटना बढेको र त्यसबाट मानिसको ज्यान जानेक्रम पनि बढेकाले आगो ताप्दा सावधानी अपनाउन अनुरोध गरेको छ।
सुरुमा आगो ताप्ने क्रममा सल्किँदा न्यायो नै महसुस हुने र आगो नियन्त्रण बाहिर गएपछि मात्रै थाहा पाउने अवस्थाले मानिसको ज्यान नै जोखिममा पर्ने गरेको आगलागी विज्ञहरू बताउँछन्।
प्राधिकरणकी प्रवक्ता शान्ति महतले पछिल्लो २४ घण्टामा त्यसरी कपडामा आगो सल्किएर चारसहित पाँच जना घाइते भएको बताइन्।
त्यसैले आगो ताप्दा धेरै नै ख्याल गर्न उनले सबैमा अनुरोध गरेकी छिन्। प्राधिकरणले सार्वजनिक सूचना तथा भिडियो सन्देशमार्फत नै आगलागीबाट जोगिन अनुरोध गर्दै आएको छ।