काठमाडौं : बानेश्वरकी सीता श्रेष्ठको अरू बेलाको दिनचर्या बिहानै खाना पकाएर परिवारलाई खुवाउने, घरधन्दा गर्ने काममा बित्थ्यो।
आज भने उनले एक कप चिया पिएपछि प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि नजिकैको ‘बुथ’मा निस्किइन्। “पहिला भोट हाल्ने अनि खाना खाउँला भनेर निस्किएँ,” उनले भने, “यो हाम्रो लागि उत्सव हो। हाम्रो अधिकार हो उत्सवमा ढिलाइ गर्नु हुँदैन।”
सीता जस्तै मध्यबानेश्वरस्थित रत्नराज्यलक्ष्मी माध्यमिक विद्यालयमा भोट हाल्न आउनेमध्ये महिला मतदाताको सहभागिता उत्साहजनक देखिएको छ। उनीहरूले पहिला भोट अनि अरू काम गर्ने भन्ने धारणाका साथ भोट हाल्न आएको बताइन्।
पोखराकी अनिता मानन्धरले मतदान गर्नकै लागि माइत बानेश्वर आएको बताइन्। विगतमा भन्दा यस पटकको निर्वाचन उहाँका लागि विशेष चासो रहेको बताइन्। “त्यसैले पोखराबाट यहाँ आएँ,” उनले भने, “जेनजी प्रदर्शनपछिको रानजीतिक मुहार जो परिवर्तन गर्नुछ।”
रत्नराज्यलक्ष्मी माध्यमिक विद्यालय मतदान केन्द्रमा पर्यवेक्षकका रूपमा खटिएकी हरिओम महेताले यस बुथमा बिहान ७ः०५ बजे ९३ वर्षीया कौशिला तिमल्सिनाले ‘ख’ केन्द्रमा मतदान गरेसँगै मतदान प्रक्रिया सुरु भएको जानकारी दिइन्। मत खसालेपछि फर्किने क्रममा उहाँलाई असहज भएपछि सुरक्षाका लागि राखिएको डोरी काटेर सजिलो बनाइएको उनले बताइन्।
“वृद्धवृद्धालाई केही समस्या भएपछि बाटो परिवर्तन गरेर सजिलो बनाउने गरेका छौँ,” उनले भने, “समग्रहमा मतदान शान्त र व्यवस्थित हुँदै गएको छ। महिला, ज्येष्ठ नागरिक, अपाङ्गता भएका मतदाताले सहज रूपमा मत खाल्न पाउनुभएको छ।”
डिल्लीबजारस्थित पदमकन्या विद्याश्रम माध्यमिक विद्यालय मतदान केन्द्रमा मत खसाल्न आउनुभएकी धनु राईले पहिलोपटक आफूले मतदान गरेको बताइन्। विदेशमा रहेका श्रीमान्ले आफूले मत खसाल्न नपाए पनि श्रीमतीले मतदान दिन आग्रह गर्नुभएको उनले बताइन्। मत खसालेपछि औँलामा नीलो रङ लगाइएको तस्बिर खिचेर श्रीमान्लाई ह्वाट्स एपमा पठाएको उनले सुनाइन्।
यति मात्रै होइन मतदाताहरूसँग स्थलगत रिपोर्टिङ गर्ने क्रममा बुझ्दै जाँदा महिलाले भोट हाल्नुले मतको अधिकार प्रयोग हुनाका साथै मताधिकार प्रयोग गरेकामा परिवारका अरू सदस्य पनि खुसी भएका प्रतिक्रिया दिएका छन्।
शङ्खमूलस्थित स्वप्नवाटिका स्कुलमा मतदान दिन आउनुभएकी प्रतीक्षा श्रेष्ठले मत खसाल्नका लागि गोर्खाबाट काठमाडौं आएको बताइन्। सही नेतृत्व चयन गर्ने अधिकार गुमाउन नदिनका लागि उहाँ काठमाडौं आउनुभएको हो। पेसाले शिक्षक हुनुभएकी उनले भने, “हाम्रो एक मतले देश बन्छ।”