सिरहा : बढ्दो खडेरी, अनपेक्षित वर्षा र भूमिगत जलस्तर घट्दै जाँदा केही वर्ष अघिसम्म लक्ष्मीपुर पतारी गाउँपालिका–४ का प्रमोदकुमार मण्डललाई आफ्नो खेत बाँझै रहला कि भन्ने चिन्ताले सताउँथ्यो । आकाशे पानीको भरमा खेती गर्ने उनी कहिले अतिवृष्टि त कहिले अनावृष्टिको मारमा पर्थे, अचेल भने मण्डलको त्यो चिन्ता हटेर गएको छ । उनले परम्परागत खेती प्रणालीलाई त्यागेर ‘जलवायुमैत्री कृषि’ अपनाएका छन् ।
“पहिले पानी नपर्दा मल र बीउको लगानी पनि उठ्दैनथ्यो,” आफ्नो अनुभव सुनाउँदै मण्डल भन्छन्, “हाल मल्चिङ प्रविधि र थोपा सिँचाइ सुरु गरेपछि कम पानीमा पनि लटरम्म तरकारी फलेको छ । खेती गर्ने तरिका फेर्दा आम्दानी मात्र होइन, मनमा शान्ति पनि मिलेको छ ।”
मण्डल परिवार तरकारी खेतीको आम्दानीबाट जीविका चलाउँदै आएको छ । विगत छ महिनादेखि प्लास्टिक घर, थोपा सिँचाइ, गँड्यौला मल, झोल मल, कीरा नियन्त्रणका लागि आवश्यक जानकारी लिई तरकारीखेती गर्दा केही सहज भएको उनको भनाइ छ ।
मण्डल भन्छन्, “रसायनिक मल पहिलादेखि नै न्यूनीकरण गर्दै लगेका थियौँ । एक त भनेको समयमा नपाइने, पाए तापनि माटोको उर्वराशक्ति ह्रास गर्ने र उत्पादन पनि घट्ने । जैविक मलको प्रयोगले मानव स्वास्थ्यलाई पनि राम्रो हुने भएकाले यसको उपयोग गर्न थालेका छौँ ।”
मण्डल परिवारले करिब साढे दुई कट्ठा जग्गाबाट पछिल्लो छ महिनामा मात्रै काउली खेतीबाट ४० हजार रुपैयाँ, टमाटरबाट ५० हजार रुपैयाँ, च्याउबाट २० हजार रुपैयाँ र सागसब्जीबाट नौ हजार रुपैयाँ आम्दानी गरिसकेको छ । उनले खेतीलाई वातावरण अनुकूल बनाउन तापक्रम नियन्त्रण गर्ने टनेल हाउस र सिँचाइका लागि सोलार प्रणाली जडान गरी लाभ लिइरहेको सुनाए ।
परिवर्तित खेती प्रणालीको सफलताले वैदेशिक रोजगारीमा रहेकाहरूलाई समेत स्वदेशमै भविष्य देखाएको छ । धनगढीमाई नगरपालिका–१० की अनिता महतोले यही सिजनमा तीन कट्ठामा लगाएको काउली बेचेर एक लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको बताइन् । उनको यो प्रगति देखेपछि वैदेशिक रोजगारीमा रहेका श्रीमान् जागेश्वर महतो घर फर्किएर कृषिमा साथ दिइरहेका छन् ।
जागेश्वर भन्छन्, “बिजुलीको झन्झट छैन, इन्धनको खर्च जोगिएको छ । घाम लागेसम्म पानीको चिन्ता हुँदैन । प्लास्टिकको घर (टनेल) भित्र गरिएको खेतीले असिना र अत्यधिक तापक्रमबाट बाली जोगाएको छ । यसले परिवारको आम्दानी मात्र होइन, आत्मनिर्भरता पनि बढाएको छ ।”
आधुनिक र जलवायु उत्थानशील पद्धतिमा आबद्ध गराउन लहानस्थित ‘राष्ट्रिय कृषक समूह महासङ्घ नेपाल’ले जलवायुमैत्री गाउँ परियोजनामार्फत सहयोग गरिरहेको छ । ‘केयर नेपाल’को आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित यस परियोजनाले किसानलाई पाठशाला सञ्चालन गर्नेदेखि कृषि सामग्री उपलब्ध गराउनेसम्मका काम गरिरहेको संस्थाका लक्ष्मीपुर पतारीका ‘फिल्ड सुपरीवेक्षक’ उमेश नन्दन चौधरीले जानकारी दिए ।
उनका अनुसार किसानलाई माटो बचाउँदै खेती गर्ने प्रणालीबारे सिकाइएको छ । पालिकाका छमध्ये पाँच वटा वडामा महिला कृषक समूह गठन गरी गोठ सुधार कार्यक्रम, गँड्यौला मल उत्पादन तथा बोरिङ, फोहोरा सिँचाइ, आधुनिक चुलो र जलवायुमैत्री बीउबिजन वितरण गरिएको छ ।
यस्तै, धनगढीमाई नगरपालिकाका क्षेत्रगत सुपरिवेक्षक रबिन साहले पनि नमूना किसान समूह निर्माण गरी किसानलाई यस प्रविधितर्फ आकर्षित गरिएको जानकारी दिए ।
परियोजनाका वरिष्ठ कार्यक्रम अधिकृत ईश्वर थापाका अनुसार यो कार्यक्रम यहाँका धनगढीमाई नगरपालिका, लक्ष्मीपुर पतारी, भगवानपुर र सखुवानन्कारकट्टी गाउँपालिका गरी चार स्थानीय तह तथा सप्तरीका रुपनी र अग्निसाइर कृष्णासवरन गाउँपालिकामा सञ्चालित छ । यी छ वटा पालिकामा जलवायु उत्थानशील कृषक समुदायको विकास गर्ने लक्ष्यका साथ काम भइरहेको उनले बताए ।
“हरित गृह ग्यास उत्सर्जनलाई न्यूनीकरण गर्ने र महिलाको कार्यबोझ कम गर्दै क्षमता अभिवृद्धि गर्ने परियोजनाको मुख्य उद्देश्य हो,” थापा भन्छन्, “यस प्रदेशमा जलवायु उत्थानशील कृषक समुदायको विकास गर्न हामीले ७० प्रतिशत संस्थाको र ३० प्रतिशत स्थानीय किसानको लागत साझेदारीमा काम गरिरहेका छौँ । यसले किसानमा अपनत्वको बोध पनि गराइरहेको छ ।”
उनका अनुसार, हालसम्म यी पालिकाहरूमा ५ सय १८ घरधुरी लाभान्वित हुने गरी ९३ वटा भूमिगत सिँचाइ प्रणाली (बोरिङ) जडान गरिएका छन् भने ५ सय वटा महिला समूह क्रियाशील छन् ।
उत्पादनको बजारीकरणका लागि पनि यहाँ योजनाबद्ध रूपमा काम भइरहेको छ । हाल सिरहाको लक्ष्मीपुर पतारीमा कृषक समूहले मानकीदेवी मोची र गीतादेवी मण्डललाई तरकारी बिक्रीको जिम्मा दिएर उत्पादनको उचित बजार र मूल्यका लागि प्रयास गरिएको छ । “उपभोक्ताले ढुक्कसँग अग्र्यानिक तरकारी किन्न पाएका छन् । फलानो ठाउँको तरकारी भनेपछि अहिले सबैले रासायनिक मल र विषादी नहालेको भनेर चिनिहाल्छन्,” परियोजनाका वरिष्ठ कार्यक्रम अधिकृत थापाले भने ।
उनका अनुसार जलवायुमैत्री कृषि प्रणालीले मुख्यतया तीनवटा कुरामा जोड दिन्छः पानीको उचित व्यवस्थापन, माटोको स्वास्थ्य सुधार र अनुकूलित बीउको प्रयोग । थापा भन्छन्, “यो प्रणाली अपनाउँदा उत्पादन लागत ३० देखि ४० प्रतिशतसम्म घट्छ र प्रतिकूल मौसममा पनि उत्पादनलाई स्थिर बनाउन मद्दत पुग्छ ।”
जलवायुमैत्री कृषिको महत्त्व बढ्दै जाँदा सरकारले पनि यसलाई विशेष प्राथमिकता दिएको छ । सरकारले भर्खरै सार्वजनिक गरेको ‘शासकीय सुधारका १०० कार्यसूची’ मा समेत माटोमा कार्बन बढाउने विषयलाई समेटेको छ । माटोमा कार्बनको सञ्चिति बढ्दा पोषक तत्वहरूको चुहावट कम हुने, सिँचाइपछि लामो समयसम्म चिस्यान कायम रहने र जराको फैलावटमा वृद्धि हुने गरेको जानकारहरू बताउँछन् ।
यसले माटोमा हावाको सञ्चार राम्रो बनाउनाका साथै सूक्ष्म जीवहरूको सङ्ख्या बढाई पारिस्थितिकीय प्रणालीमा खाद्य चक्र सन्तुलन राख्छ, जसले अन्ततः माटोको भौतिक, रासायनिक र जैविक गुणमा सुधार ल्याई जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्न मद्दत पु¥याउने गरेको सुपरिवेक्षक साहले बताए ।
खडेरी र कीराको प्रकोप जस्ता समस्या झेल्दै आएका यहाँका किसानका लागि ‘जलवायुमैत्री कृषि’ पद्धति ‘वरदान’ साबित हुँदै गएको छ । यद्यपि, सबै किसानसम्म यी प्रविधि पुगेका छैनन् । अग्रणी किसानको सफलताले अन्य कृषकलाई पनि यसतर्फ लाग्न प्रेरित भने गरिरहेको छ ।