सुचना, समाचार र मनोरन्जन

चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द : सेवाग्राही समस्यामा

 

कैलाली : शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय मातहत सञ्चालित गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द भएको छ । विशेषज्ञ डाक्टर नहुँदा सो सेवा बन्द भएको अस्पतालका सूचना अधिकारी नैनसिंह कार्कीले जानकारी दिए ।

 

उनका अनुसार दुई महिनाअघि नै रेडियोलोजिस्ट डा. होम पन्तको कोशीमा सरुवा फिर्ता भएपछि उनले जागिरबाट राजीनामा दिएसँगै उक्त सेवा बन्द भएको हो ।

 

दैनिक २० जनासम्मको भिडियो एक्सरे हुने गरेको गेटा अस्पतालमा हाल सेवा बन्द भएपछि सेवा लिन आउने बिरामी बाहिर जान बाध्य छन् । सूचना अधिकारी कार्कीले गर्भवती जाँचका लागि स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टरले नै भिडियो एक्सरे सेवा जारी राखेका छन् ।

 

रेडियोलोजिस्ट डाक्टर नहुँदा म्यामोग्राफी (स्तन एक्सरे जाँच) सेवा पनि बन्द भएको उनको भनाइ छ । उनले म्यामोग्राफीको रिपोर्टिङ पनि रेडियोलोजिस्ट डाक्टरलाई गर्नुपर्ने भएकाले रेडियोलोजिस्ट डाक्टर नहुँदा सेवा बन्द भएको बताए ।

 

म्यामोग्राफी सेवा यस क्षेत्रमा पहिलोपटक सञ्चालनमा ल्याइएको थियो । छ सय शय्याको भौतिक संरचना निर्माण भएको अस्पतालमा हाल ५० शय्या मात्रै सञ्चालनमा छ ।

 

अस्पतालमा सेवा विस्तारका लागि पटकपटक यस क्षेत्रका स्थानीयले दबाब दिँदै आए भए पनि हाल भएका सेवा पनि पूर्ण रूपमा सञ्चालनमा आउन सकेका छैनन् ।

 

अस्पतालमा यसअघि नै आईसीयू एनआईसीयू सेवा पनि सञ्चालन गर्ने जनाउँदै पूर्वाधार निर्माण गरिएको भए पनि सो सेवा पनि अझै सञ्चालनमा आउन सकेको छैन ।

Leave A Reply

Your email address will not be published.