खोटाङ : धरान मूर्तिकला घरका सञ्चालक धीरज राई यतिखेर दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको शुभम् फाउन्डेसनमा भइरहेको मूर्तिकला कार्यशालामा स्थानीय साप्सु खोलाबाट ल्याइएका ढुङ्गामा आफ्नो श्रम र सीप लगाउन व्यस्त छन् ।
एउटै ढुङ्गामा किराती समुदायको मौलिकता झल्काउने लक्ष्य अनुरूप निरन्तर लागि रहेका उनले ढुङ्गामा बाबु (चिन्डो) सेलोमा, ढोल, झ्याम्टा, धनुकाँण, तीन चुलोको प्रतीक बुन्छन् ।
विगत १२ वर्षदेखि मूर्तिकारितामा निरन्तरको लगाव राख्दै आएका राई यही असार १२ गतेदेखि दिक्तेलमा सञ्चालित मूर्तिकला कार्यशालामा लागिरहेका हुन् ।
राईले तयार गरेका मूर्ति धरान मूर्तिकला घरबाट देशका विभिन्न स्थानमा पुगिसकेका छन् । उनले यसअघि ५० फिट अग्लो लिटिल बुद्धको मूर्ति निर्माणसँगै थुुप्रै मूर्तिहरू तयार गरिसकेका छन् ।
उनीसहित सामूहिक सहकार्यमा तयार गरिएको ११० फिट अग्लो यलम्बरको मूर्ति खोटाङको बुइपामा ठड्याइसकिएको छ । गोरखाको सुलिकोटमा गिरिजाप्रसाद कोइराला र पुष्पकमल दाहाल ‘प्रचण्ड’ भएको शान्ति सम्झौताको प्रतिमादेखि पृथ्वीनारायण शाह आदिका मूर्तिका साथै धरानका पूर्वनगरप्रमुख हर्क साम्पाङको प्रतिमा आदिले उनको मूर्तिकारिताले समयसमयमा चर्चा पाउने गरेको छ ।
करिब एक डेढ घण्टामा दुरुस्त मूर्ति तयार गर्न सक्ने क्षमताका राई ठाउँठाउँँका जीवन्त प्रदर्शनीमा पनि आफूलाई उभ्याइ सकेका छन् । राई जस्तै नवलपरासीका मूर्तिकार विके नरबहादुर पनि यतिखेर दिक्तेलमा छन् ।
जीवनको २५ वर्षभन्दा बढी मूर्तिकारितामा समय खर्चिसकेका नरबहादुरले दिक्तेलमा भइरहेको कार्याशालामा सहभागी भई ढुुङ्गामा माता कालीको साङ्केतिक मुहारलाई देखाउने गरी आफ्नो सीप लगाइरहेका छन् ।
थ्रुप्रै मूर्तिहरू तयार गरिसकेका नरबहादुरले यसअघि बर्दघाट नगरपालिकामा १२ फिट अग्लो बुद्धको मूर्ति, स्याङ्जाको भालुवाङमा राखिएको १२ फिट अग्लो भालुको मूर्ति, स्याङ्जाको पुतली बजारमा राखिएको सुन्तलाको मूर्ति, नवलपरासीको सुस्ता पावरहाउस चोकमा राखिएको बिपी कोइरालाको मूर्ति आदि तयार गरी चर्चामा आइसकेका छन् ।
मूर्तिकारिताका क्षेत्रमा इमान्दार भएर काम गर्ने हो भने स्वरोजगार बन्न कुनै समस्या नरहेको उनको अनुभव छ । राई र नरबहादुर जस्तै काठमाडौँकी शुक्ष्मा श्रेष्ठ पनि दिक्तेलमा गणेशको मूर्ति बनाइरहेकी छिन् । विगत ३० वर्ष अघिदेखि नै मूर्तिकारिताका क्षेत्रमा लागेकी श्रेष्ठ केही समय पारिवारिक कामले सक्रिय नबने पनि पुनः पछिल्ला १० वर्षयता यस क्षेत्रमा कृयाशिल बनेर लागिरहेको अनुभव सुनाइन् ।
आफूले यस कीर्तिपुरमा गणेशको मूर्ति बनाएको अनुभव सुनाउँदै उनले दिक्तेलमा चौथो पटक गणेशको मूर्ति बनाउन लागेको बताइन् । सबै मूर्तिकारहरूका काममा ललितकला क्याम्पसमा फाइन आर्ट विषयमा स्नातक तह अध्ययन गरिरहेका रुपन्देहीका आयुुष सुनार, स्याङ्जाका विदुर पौडेलले सहयोग गरिरहेका छन् ।
कार्यशालामा पाँच वटा प्रदेश, १२ जिल्लाका साथै एक जना भारतीय कलाकार पनि सहभागी बनेका छन् । मूर्तिकारहरूले कार्यशालामा सहभागी भई गौतमबुद्धको अर्धकदको मूर्ति, जट्टाधारी शिवजीको अर्धकदको मूर्ति, किरात संस्कार तथा संस्कृतिसँग सम्बन्धित ढोल, झ्याम्टा, बाबु (चिन्डो) तथा धनुषवाण, लोपोन्मुख जनावर रेडपाण्डालगायतका कलात्मक मूर्ति निर्माण गर्ने विश्वको उत्कृष्ट गन्तव्य नेपाल बनाउने महाअभियानका निर्देशक नकुल सिंहले जानकारी दिए ।
धार्मिक तथा पर्यटकीयस्थल मझुवागढी संरक्षण तथा प्रवर्द्धनका लागि कोशी प्रदेश सरकारको आर्थिक सहयोगमा कार्यशाला आयोजना गरिएको हो । कार्यशालामा बनाएका कलात्मक मूर्तिलाई धार्मिक तथा पर्यटकीयस्थल मझुवागढीमा लगेर राखिनेछ ।
यसअघि जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, नगरप्रमुख तीर्थराज भट्टराई र प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले ढुङ्गामा छिनो र मार्तलले आकृति कोरेर कार्यशालाको शुभारम्भ गरेका थिए ।
दिक्तेल बजार नजिकै रहेको मझुवागढीलाई सौन्दर्यकरण गर्नका लागि सङ्घ, प्रदेश तथा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको ठुलो धनराशि लगानी भइरहेको छ । दिक्तेल बजारस्थित हाटडाँडाबाट करिब ४५ मिनेट उकालो चढ्दा पुगिने मझुवागढीलाई सांस्कृतिक विविधतामा आधारित पर्यटकीय गन्तव्य बनाउन मूर्ति राख्ने तयारी गरिएको हो ।
जिल्लाको सबैभन्दा ठुलो यस नगरपालिकाले भौतिक पूर्वाधार विकाससँगै कला, साहित्य तथा सृजनाका कार्यक्रमलाई प्राथमिकतामा राख्दै आएको छ । यसअघि पालिकाले पर्यावरण संरक्षणका रेडपाण्डा तथा थार महोत्सव, स्थानीय कच्चापदार्थलाई प्रयोगमा ल्याउन राष्ट्रिय बाँस सम्मेलन, चित्रकलालाई प्रवर्द्धन गर्न मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशालालगायत कार्यक्रम सम्पन्न गरिसकेको छ ।
भौगोलिक, ऐतिहासिक एवं सांस्कृतिक महत्त्व बोकेको मझुवागढीको गरिमालाई मूर्तिकारिताका माध्यमबाट थप उजागर गर्ने लक्ष्य लिइएको छ ।