पोखरा,
जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरिरहेको ‘अपरेसन ३६५’ अन्तर्गत स्वरूप परिवर्तन गरी ध्वनि प्रदूषण गर्ने थप ३३ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार साउन ७ गते राति पोखरा महानगरपालिकाका विभिन्न स्थानमा गरिएको विशेष चेकजाँचका क्रममा मापदण्डविपरीत मोडिफाइ गरी अत्यधिक आवाज निकाल्ने मोटरसाइकलहरू नियन्त्रणमा लिइ आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको हो।
प्रहरीले महेन्द्रपुल र नयाँबजार क्षेत्रबाट २ वटा, लेकसाइड, सिर्जनाचोक र राष्ट्रबैंकचोक क्षेत्रबाट १० वटा, तालचोक र गगनगौंडाबाट २ वटा, बाग्लुङ बसपार्क, बिन्ध्यवासिनी र नदीपुर क्षेत्रबाट १४ वटा तथा अमरसिंहचोक, हस्पिटलचोक र बुद्धचोक क्षेत्रबाट ५ वटा मोटरसाइकल नियन्त्रणमा लिएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार ‘अपरेसन ३६५’ सुरु भएयता हालसम्म स्वरूप परिवर्तन गरी ध्वनि प्रदूषण गर्ने ७७३ वटा सवारी साधन तथा ३६ जना व्यक्तिलाई नियन्त्रणमा लिएर कानुनी कारबाही गरिएको छ।
प्रहरीले ट्राफिक नियमको पालना गर्न, सवारी साधनमा अनधिकृत रूपमा परिवर्तन नगर्न तथा ध्वनि प्रदूषण नियन्त्रणमा सहयोग गर्न सबै सवारी चालकलाई आग्रह गरेको छ।