सुचना, समाचार र मनोरन्जन

‘दश मिनेटमा गाउँपालिका पुगिन्छ, ९४ वर्षकी आमा लिएर सदरमुकाम आउनुपर्यो’

 

पाँचथर : घरबाट गाउँपालिकाको कार्यालय पुग्न पैदल १० मिनेट मात्रै लाग्छ। तर जग्गा अंशवण्डा र नामसारीका लागि ९४ वर्षीया अशक्त आमालाई बोकेर सदरमुकाम फिदिम झर्नुपर्‍यो। हातखुट्टा चल्दैनन्, आँखाले देख्दिनन् र १६ वर्षदेखि ओच्छ्यान परेकी आमा धनमाया योङहाङ लिम्बूलाई छोरा रिकुमारले आफन्त र छिमेकीको सहारामा सवारीसाधनमा राखेर फिदिम ल्याएका हुन्।

 

बिहीबार भूमि प्रशासन कार्यालय पाँचथरको सेवाग्राही बस्ने बेन्चमा धनमाया सुतिरहेकी थिइन्। उनका छोरा रिकुमार भने बाबुको नाममा रहेको जग्गा आमा र आफ्नो नाममा अंशवण्डा तथा नामसारी गर्न कार्यालयका विभिन्न फाँटमा धाइरहेका थिए।

 

दृष्टि गुमाएकी धनमायाका हातखुट्टा पनि चल्दैनन्। सामान्य हिँडडुलदेखि शौचालय जानसम्म उनलाई अरूको सहारा चाहिन्छ। कार्यालयमा काम भइरहँदा आफन्तले उनलाई पटकपटक शौचालय लैजाने र ल्याउने गरिरहेका थिए।

 

जग्गा अंशवण्डा तथा नामसारीका लागि जग्गाधनी स्वयं उपस्थित भएर बायोमेट्रिक गर्नुपर्ने भएपछि धनमायालाई पनि कार्यालय ल्याउनुपर्ने बाध्यता परेको हो।

 

धनमायाका श्रीमानको आठ वर्षअघि नै निधन भएको थियो। छोरा रिकुमार लामो समय वैदेशिक रोजगारीमा रहेकाले बाबुको नाममा रहेको जग्गा अंशवण्डा र नामसारी गर्न पाएका थिएनन्।

 

रिकुमारको घरबाट हिलिहाङ गाउँपालिकाको कार्यालय पैदल करिब १० मिनेटमा पुगिन्छ। तर नापी र मालपोतसम्बन्धी काम जिल्लास्थित कार्यालयबाटै गर्नुपर्ने भएपछि नजिकै रहेको गाउँपालिका छाडेर ९४ वर्षीया आमालाई लिएर फिदिम आउनुपरेको हो।

 

‘पैदल हिँड्दा पनि आमालाई बोकेर १० मिनेटमा गाउँपालिकाको कार्यालय पुग्थ्यौँ। तर त्यहाँ जग्गाको काम नहुने भएकाले फिदिम झर्नुपर्ने बाध्यता आइलाग्यो,’ उनले भने, ‘यहाँको सेवा पनि गाउँपालिका वा वडा कार्यालयबाटै दिइएको भए मजस्ता सेवाग्राहीलाई सहज हुन्थ्यो होला।’

 

बिहान गाउँबाट सदरमुकाम आउने सवारीसाधनमा आमालाई लिएर फिदिम आइपुग्दा ढिला भइसकेको थियो। त्यसपछि आमालाई खाना खुवाएर कार्यालय ल्याउँदा थप समय लाग्यो। विभिन्न फाँटमा धाउँदै काम सम्पन्न गर्दा अपराह्न ४ः३० बजिसकेको थियो।

 

गाउँ फर्कने सवारीका चालकले रिकुमारलाई फर्कने बेला भइसकेको भन्दै पटकपटक फोन गरिरहेका थिए। काम नसकी नफर्कने बताएपछि उनीहरूको गाउँ फर्कने गाडी छुट्यो।

 

‘यहाँ फिदिममा गोर्खा वेलफेयर सेन्टरमा पनि थोरै काम थियो। त्यहाँ त भिडिओ कलबाट पनि काम हुन्छ,’ उनले भने, ‘यहाँ पनि त्यस्तै व्यवस्था भएको भए झनै सहज हुन्थ्यो। आज ढिलो हुँदा गाउँ जाने गाडी पनि छुट्यो।’

 

सदरमुकाम फिदिममा आफन्तले कोठा लिएकाले उनीहरू त्यहीँ बस्ने तयारीमा थिए।

 

भूमिसम्बन्धी सेवा स्थानीय तहमा विस्तार नहुँदा धनमाया र रिकुमारजस्ता सेवाग्राहीले सास्ती खेप्दै आएका छन्। फिदिम नगरपालिकाबाहेक जिल्लाका सातवटै गाउँपालिकाबाट भूमिसम्बन्धी सेवा प्रवाह हुनुपर्ने स्थानीयको माग छ।

 

भूमि प्रशासन कार्यालय पाँचथरका सूचना अधिकारी पदमबहादुर नेम्वाङका अनुसार जग्गाको किनबेच, अंशवण्डा र नामसारी गर्दा जग्गाधनी स्वयं उपस्थित भएर बायोमेट्रिक गर्नुपर्ने व्यवस्था छ। यही कारण ज्येष्ठ नागरिक र अशक्त व्यक्तिसमेत कार्यालयमै उपस्थित हुनुपर्ने अवस्था रहेको उनले बताए।

 

‘उहाँ (रिकुमार) एक्लो छोरा भएकाले आमाको शेषपछि जग्गा स्वतः छोराको नाममा आउने हो। तर गाउँमा कुनै संस्थालाई जग्गा दिनुपर्ने भएकाले अंशवण्डा र नामसारीका लागि आउनुभएको रहेछ,’ नेम्वाङले भने, ‘जग्गाको कारोबार गर्नैपर्ने अवस्थामा बायोमेट्रिक गर्न सम्बन्धित व्यक्ति कार्यालय आउनैपर्छ।’

 

भूमि प्रशासन कार्यालयको सेवा स्थानीय तहबाटै उपलब्ध गराउनुपर्ने माग सेवाग्राहीले गर्दै आए पनि याङवरक गाउँपालिकाले मात्रै प्रक्रिया अघि बढाएको नेम्वाङले बताए।

 

‘याङवरक गाउँपालिकाले भूमि प्रशासनको सेवा दिन प्रक्रिया अघि बढाएको छ,’ उनले भने, ‘स्थानीय तहबाटै सेवा प्रदान गर्दा सेवाग्राहीलाई केही न केही सहज हुन्छ। अन्य गाउँपालिकाले पनि प्रक्रिया अघि बढाएकोबारे हामीलाई जानकारी छैन।’

Leave A Reply

Your email address will not be published.