अमेरिकाले सोमबारदेखि जी-२० का विभिन्न बैठकहरू सुरु गरेको छ। अमेरिकाले बैठकमा ‘ऊर्जाको प्रचुरता’लाई प्राथमिकताका रुपमा अघि सारे पनि राष्ट्रपति डोनाल्ड ट्रम्पको इरानविरुद्धको युद्धले विश्वव्यापी इन्धन बजारमा गम्भीर असर पारिरहेको छ।
बैठकहरू तेल उत्पादनका लागि प्रसिद्ध अमेरिकी राज्य टेक्सासको ह्युस्टनमा बुधबारसम्म सञ्चालन हुने छन्। विश्वका प्रमुख अर्थतन्त्रका प्रतिनिधिहरू बैठकमा सहभागी हुँदै छन्। चीन, भारत, जापान र जर्मनीलगायत देशका प्रतिनिधि सहभागी हुनेछन् भने क्यानडा र साउदी अरबजस्ता प्रमुख तेल उत्पादक राष्ट्र पनि बैठकमा उपस्थित हुने छन्।
रुसी अधिकारीहरूले शनिबार मस्कोले पनि केही अधिकारीलाई बैठकमा पठाउने संकेत गरेका थिए। दुई साताअघि भएको जी-२० को बैठकमा रुसी अर्थमन्त्री एन्टोन सिलुआनोभको अप्रत्याशित उपस्थितिले समेत चर्चा पाएको थियो।
युक्रेनका युरोपेली सहयोगी राष्ट्रहरूले भने रुसलाई बैठकमा आमन्त्रण गर्ने अमेरिकी निर्णयप्रति असन्तुष्टि जनाएका छन्। युक्रेनमाथिको युद्धका कारण रुसलाई अन्तर्राष्ट्रिय मञ्चबाट अलग राख्ने प्रयास भइरहेका बेला अमेरिकाले मस्कोलाई आमन्त्रण गरेको भन्दै उनीहरूले निराशा व्यक्त गरेका हुन्।
ह्युस्टनमा जी-२० बैठक भइरहेका बेला मध्यपूर्वमा जारी युद्धका कारण तेल तथा ग्यासको मूल्य बढिरहेको छ। युरोपले जाडोयाम सुरु हुनुअघि आफ्ना ग्यास भण्डारण केन्द्रहरू पर्याप्त रूपमा भर्न संघर्ष गरिरहेको छ।

जी-२० को अध्यक्ष राष्ट्रका रूपमा अमेरिकाले सस्तो, भरपर्दो र सुरक्षित ऊर्जामा पहुँच विस्तारलाई आफ्नो प्रमुख प्राथमिकतामध्ये एक बनाएको छ। तर, फेब्रुअरीमा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि विश्वव्यापी ऊर्जा आपूर्तिमा ठूलो असर परेको छ।
अमेरिकामा इन्धनको मूल्यसमेत तीव्र रूपमा बढेको छ। अमेरिकन अटोमोबाइल एसोसिएसन (एएए)का अनुसार डिजेलको मूल्य प्रतिग्यालन ६.२० अमेरिकी डलर पुगेको छ, जुन अहिलेसम्मकै उच्च हो। नियमित पेट्रोलको मूल्य पनि युद्ध सुरु हुनुअघिको तुलनामा ४४ प्रतिशतले महँगिएको छ।
युद्ध र त्यसबाट उत्पन्न आर्थिक असरका कारण ट्रम्पको रिपब्लिकन पार्टीले आगामी नोभेम्बरमा हुने मध्यावधि निर्वाचनमा पराजयको जोखिम बढेको भन्दै चिन्ता व्यक्त गरिरहेको छ।
अमेरिकी राष्ट्रपति ट्रम्पले इरानले आफूलाई राजनीतिक रुपमा कमजोर बनाउन युद्ध लम्ब्याइरहेको आरोप लगाउँदै आएका छन्। उनले हालै निर्वाचनपछि युद्ध ‘तत्काल’ अन्त्य हुने दाबीसमेत गरे।
ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीमाथि रुसी तेल प्रशोधन केन्द्रमा युक्रेनले गरेको आक्रमणका कारण अमेरिकामा डिजेलको अभाव सिर्जना भएको आरोप पनि लगाएका छन्।
अमेरिकी ऊर्जा सचिव क्रिस राइट र आन्तरिक मामिला सचिव डग बर्गम पनि ह्युस्टनमा हुने जी-२० बैठकमा सहभागी हुने अपेक्षा गरिएको छ। भेनेजुएलासँग सम्बन्धित अमेरिकी ऊर्जा नीतिमा राइटको महत्वपूर्ण भूमिका रहेको बताइएको छ।