सुनसरी : बराहक्षेत्र नगरपालिका–९ श्रीलङ्का टप्पुका अर्जुन चन्द्रवंशीले आफ्ना चार छोरालाई कृषि पेसा आबद्ध गराएका छन्। करिब दुई दशकदेखि गोलभेँडालगायत तरकारीखेती गर्दै आएका उनले कृषि पेसालाई नै परिवारको मुख्य आम्दानीको स्रोत बनाएका छन्।
उनको खेतमा वर्षभरि गोलभेँडा, कोभी, बोडीलगायतका तरकारी उत्पादन हुने गरेको छ । अर्जुनका चार छोरा रामविलास, लक्ष्मण, श्रीराम र जादुलाल चन्द्रवंशी बाबुकै लयमा कृषि पेसामा दत्तचित्त भएर लागेका छन् । “छोराहरू विदेश जाने भन्थे, मैले नेपालमै रु ५० हजार दिन्छु भनेर विदेश जान दिइनँ । अहिले नेपालमै बसेर सबै छोराले लाखौँ रुपैयाँ कमाउन सक्ने भएका छन्”, अर्जुनले भने ।
विदेश गएर दुःख गर्नुभन्दा नेपालमै मिहिनेत गरेर राम्रो आम्दानी गर्न सकिन्छ भन्ने सोचले चारै जना छोरालाई कृषिमा लगाएको उनले बताए । पहिला सडक तथा यातायातको सुविधा थिएन । दुईचार कट्ठामा गरिएको खेती टाउकोमा बोकेर बजारसम्म पुर्याउनुपथ्र्यो । अहिले बारीमै गाडी लिएर व्यापारी आउँछन् ।
चन्द्रवंशी परिवारले हाल पाँच बिघामा गोलभेँडाखेती गर्दै आएका छन् । साथै केही जग्गामा मौसमी तरकारीसमेत लगाएका छन्। गोलभेँडाको मुख्य सिजन कात्तिक मङ्सिरदेखि फागुन–चैतसम्म ५० जनाभन्दा बढी कामदारले अर्जुनको फार्ममा काम गर्ने गरेका छन् । अफसिजनमा पनि २५ जना ज्यालादारी कामदार खेतमा खटिने गरेको अर्जुनले जानकारी दिए ।
गत वर्ष गोलभँेडाको मूल्य राम्रो हुनुका साथै मौसमले समेत साथ दिएकाले रु एक करोडबराबरको कारोबार भएको उनले बताए । “यस वर्ष कस्तो हुन्छ हेरौँ । मूल्य राम्रो नभए पनि सबै खर्च कटाएर वार्षिक रु ६० लाखसम्म मज्जाले आम्दानी हुन्छ”, उनले भने ।
अर्जुनका छोरा श्रीरामका अनुसार गोलभेँडाको मूल्य बजारको माग र उत्पादनअनुसार फरक हुने गरेको छ । सामान्य अवस्थामा प्रतिकिलो रु ३० देखि ५० तथा कहिलेकाहीँ रु ८० देखि रु ९५ सम्म बिक्री हुने गरेको छ । कहिलेकाहीँ प्रतिकिलो रु पाँचमा पनि बिक्री गर्नुपर्ने अवस्था आउने गरेको उनले बताए ।

“मङ्सिरदेखि वैशाखसम्म गोलभेँडाको मूल्य राम्रो हुने उहाँले बताउनुभयो । राम्रो मूल्य भएको समयमा एकै दिन रु तीन लाख बढीको गोलभेँडा बिक्री हुने गरेको छ”, श्रीरामले भने, “बोडी, काँक्रा, कोभीलगायतका मौसमी तरकारी पनि सिजनअनुसार बिक्री हुने गरेको छ ।”
अर्जुनका माइला छोरा लक्ष्मण चार वर्ष मलेसियामा बसेर नेपाल फर्किएपछि अहिले बुबालाई खेतीमा सघाइरहेका छन् । “विदेशभन्दा नेपालमा कमाइ राम्रो छ । कृषि खेती हाम्रो पुख्र्यौली पेसा हो । सुरुआती समयमा आलु, कोभीलगायतका तरकारीखेती गर्दै आएका थियौँ । पछिल्लो समय गोलभेँडा खेतीबाट राम्रो आम्दानी हुन थालेपछि यसको क्षेत्र विस्तार गरियो”, उनले भने ।
औपचारिक तालिमभन्दा पनि सामाजिक सञ्जालबाट जानकारी लिएर कृषि गरिरहेको लक्ष्मणले बताए । “हामीले सामाजिक सञ्जालमा हेरेर नै व्यावसायिक खेती गरिरहेका छौँ”, उनको भनाइ छ । करिब १२ बिघा जमिनमध्ये पाँच बिघामा गोलभेँडा तथा अन्य तरकारीखेती गरिँदै आएको उनले बताए । बाँकी जमिनमा मकै तथा धान लगाउने गरिएको छ । “उत्पादित गोलभेँडा बिक्रीका लागि बजारको समस्या छैन । हामीले बजार खोज्दै जानु पर्दैन । व्यापारी आफैँ खेतमा आउँछन् । यहाँबाट खरिद गर्दा बजारको मूल्यभन्दा कममा दिने गरेका छौँ”, लक्ष्मणले भने ।
धनकुटा, धरान, इटहरी, गाईघाट, राजविराज, झापालगायतका स्थानबाट व्यापारी गोलभेँडा खरिद गर्न खेतमै आउने गरेका छन् । यो खेतीमा लगानी बढिरहेको र दुःख पनि भएको उहाँको भनाइ छ । लगानीअनुसार उत्पादन राम्रो हुने घाटा नहुने उनी स्मरण गर्छन् ।
“अहिले यही खेतीबाट परिवारका सबै सदस्यलाई रोजगारी मिलेको छ भने अरूलाई पनि रोजगारी दिन सकिएको छ”, उनले भने, बराहक्षेत्र नगरपालिका–६ र ९ स्थित श्रीलङ्का टप्पुमा मात्र करिब तीन सय बिघा क्षेत्रफलमा गोलभेँडाखेती हुने गरेको छ । अधिकांश किसानले गोलभेँडासँगै अन्य मौसमी तथा बेमौसमी तरकारीखेती गर्दै आएका छन् ।
सुनसरीमा हाल आठ हजार १५३ हेक्टर क्षेत्रफलमा तरकारीखेती हुँदै आएको कृषि ज्ञान केन्द्र सुनसरीका सूचना अधिकृत प्रविनलाल श्रेष्ठले जानकारी दिए ।
बराहक्षेत्र नगरपालिकामा गोलभेँडा, कोभी, बोडीलगायतका तरकारीको उत्पादन राम्रो हुँदै आएकाले यहाँका अधिकांश किसान व्यावसायिक तरकारीखेतीमा लागेको नगरप्रमुख रमेश कार्कीले बताए ।
श्रीलङ्का टप्पुका ९० प्रतिशत स्थानीय कृषि तथा तरकारी उत्पादनमा केन्द्रित छन् । श्रीलङ्का टप्पु तरकारीखेतीका लागि प्रख्यात क्षेत्र हो । नगरपालिकाले स्थानीय किसानको उत्पादन वृद्धि गर्न प्रोत्साहनस्वरूप मल, बीउलगायत सामग्रीमा अनुदान दिँदै आएको नगरप्रमुख कार्कीले जानकारी दिए ।