सन् २०३० सम्ममा विश्वको ३० प्रतिशत भूमि र महासागर संरक्षण गर्ने अन्तर्राष्ट्रिय लक्ष्य हासिल गर्ने दिशामा विश्व पछाडि परेको वातावरणीय अभियानकर्ताहरूले बताएका छन् । आगामी अक्टोबरमा आर्मेनियामा हुने संयुक्त राष्ट्रसङ्घीय जैविक विविधता सम्मेलनअघि सार्वजनिक प्रतिवेदनले संरक्षण प्रयास र लगानी तत्काल बढाउनुपर्ने देखाएको छ ।
सन् २०२२ मा करिब दुई सय राष्ट्रले तय गरेको ‘३०×३०’ लक्ष्यअन्तर्गत भूमि र समुद्री क्षेत्रको ३० प्रतिशत संरक्षण गर्ने प्रतिबद्धता गरिएको थियो । तर, ‘क्याम्पेन फर नेचर’ र ‘टुगेदर फर द ओसन’ को प्रतिवेदनले सरकारका प्रतिबद्धता र कार्यान्वयनबीच ठूलो अन्तर रहेको जनाएको छ । ‘क्याम्पेन फर नेचर’ का निर्देशक ब्रायन ओ’डोनेलले तीव्र प्रगति सम्भव भए पनि विश्व लक्ष्य हासिल गर्ने मार्गमा नरहेको बताउनुभयो ।

प्रतिवेदनअनुसार हालका प्रतिबद्धता कार्यान्वयन भए सन् २०३० सम्ममा संरक्षित भूमि र अन्तर्देशीय जलक्षेत्र करिब २७ प्रतिशत पुग्नेछ भने महासागरको संरक्षण करिब १२ प्रतिशतमा सीमित रहनेछ । संयुक्त राष्ट्रसङ्घअन्तर्गतको जैविक विविधतासम्बन्धी महासन्धिले पनि राष्ट्रहरू लक्ष्य हासिल गर्ने मार्गबाट पछि हटिरहेको चेतावनी दिएको छ ।
संरक्षणका लागि आवश्यक वित्तीय स्रोतको अभावलाई प्रमुख चुनौती मानिएको छ । लक्ष्य पूरा गर्न वार्षिक एक खर्बदेखि एक खर्ब ८० अर्ब अमेरिकी डलर आवश्यक पर्ने अनुमान गरिए पनि हाल करिब २४ अर्ब डलर मात्र खर्च भइरहेको छ । महासागर संरक्षणमा वार्षिक १६ अर्ब डलर आवश्यक पर्ने भए पनि करिब एक अर्ब ८० करोड डलर मात्र खर्च भइरहेको प्रतिवेदनमा उल्लेख छ ।