काठमाडौं :
हक्की स्वभावका अभिनेता तथा निर्देशक निश्चल बस्नेत शनिबार फिल्म ‘हात्तीछाप’ हेर्न काठमाडौंको बीग मुभिज पुगेका थिए। अभिनेत्री स्वस्तिमा खड्का सहित फिल्म हेर्न हलमा पुगेका उनले आफुलाई फिल्म ठिकै लागेको र अझै राम्रो बनाउन सकिने बताए। पत्रकारसँग बोल्दै निर्देशक बस्नेतले ‘हात्तीछाप’मनोरञ्जनात्मक फिल्म बनेको प्रतिक्रिया दिए।
उनले भने–‘मलाई फिल्म ठिकै लाग्यो । अझै राम्रो हुन सक्थ्यो भन्ने लागेको छ । तर, फिल्म निकै रमाइलो छ । हेर्दा ठाउँ ठाउँमा हसाँइरहेको थियो ।’
निश्चलले फिल्मको शिर्षक अनुसार कथावस्तु सार्थक भएको पनि बताए ।
उनीसँगै हलमा पुगेकी स्वस्तिमा खड्काले भने फिल्म एकदमै राम्रो लागेको प्रतिक्रिया दिइन्। उनले भनिन्,‘फिल्म हेर्नु अगाडि भन्दा अहिले हेरेपछि झनै बढेको छ । फिल्म हेरेपछि हात्तीछाप भनेको के रहेछ भन्ने बुझ्ने मौका पाएँ । यही कुरा नै फिल्ममा रमाइलो रहेछ ।’
स्वस्तिमाले दयाहाङ राई र सौगात मल्लको काम गर्ने तरिका फरक फरक रहेको भन्दै दुवैको तारिफमा समय खर्चिइन्।
‘सौगात दाईले जहिले पनि केही फरक गर्ने कोशिश गर्नुहुन्छ । दया दाईको अभिनय अर्गानिक छ,’उनले भनिन्,‘हामी भने सौगात दाईको क्यारेक्टरमा निकै रमाइलो गरिरहेका थियौं । तर, फिल्मको कथावस्तु दया दाईले अगाडि बढाउनु भएको छ ।’
स्वस्तिमाले नायिका उपासना सिंह ठकुरीको कामको पनि प्रशंसा गरिन् ।
सोही क्रममा फिल्म भित्रको राजनीतिक बिषयको बारेमा निश्चलले पनि आफ्नो धारणा राखे । उनले भने,‘नेपालको राजनीतिक अवस्था नै डामाडोल रहेकाले हरेक फिल्ममा यसको मुद्दा उठ्नु स्वभाविक नै हो । यसमा पनि आफ्नै तरिकाले राजनीतिलाई देखाइएको छ । फिल्म मनोरञ्जनात्मक छ । दर्शकले हेर्नुभयो भने पक्कै पनि रमाइलो मान्नु हुन्छ होला ।’
किरण नेपालीको प्रस्तुतिमा सिमोस सुनुवारको निर्देशन रहेको यो फिल्म शुक्रबारदेखि नेपाल र विदेशका रिलिज भइरहेको छ ।फिल्मले उत्साहजनक व्यापार गरिरहेको फिल्म वितरक रोहित कट्टेलले जानकारी दिएका छन्।