सुचना, समाचार र मनोरन्जन

निशा अधिकारीसहित ‘प्ले इट वन’को टीम फिल्म निर्माणमा, ‘माया प्रीति’ घोषणा

काठमाडौं :

वन टू थ्री स्टुडियोज् प्रा.लि.को ब्यानरमा ‘माया प्रीति’ बन्ने भएको छ। निर्माण टिमले शुक्रबार फिल्मको घोषणा गरेका हुन्। रोमान्टिक कमेडी श्रेणीमा आधारित रहने यो फिल्मलाई अवि श्रेष्ठले निर्देशन गर्नेछन्।

यहि फिल्मबाट अभिनेत्री निशा अधिकारी कार्यकारी निर्माताका रुपमा रहने छिन्। निशाका साथमा सन्तोष कुमार कार्की पनि कार्यकारी निर्माता रहने निर्माण पक्षले जानकारी दिएका छन्। यस फिल्मको क्रिएटिभ निर्देशक प्रणव जोशी रहनेछन्।

Chaka Panja

‘माया प्रीति’को निर्माण टोली नेपाल टेलिभिजनको अत्यधिक लोकप्रिय शो ‘प्ले इट अन’मा पाँच वर्षसम्म लगातार काम गरेको अनुभवी समूह हो। यस फिल्मको लागि शो का प्रस्तोताहरू अभी श्रेष्ठ र निशा अधिकारी, सहायक कार्यक्रम निर्माता सन्तोष कुमार कार्की र क्रिएटिभ निर्देशक प्रणव जोशी पुनः जुटेका हुन् ।

निर्देशक अवि श्रेष्ठका अनुसार यो नयाँ युगको प्रेम कथा हो, जसले सहज वा असहज परिस्थितिमा पनि प्रेमको मूल्यलाई एकसमान राख्छ। निर्देशक श्रेष्ठले पत्रकारसँगको कुराकानीमा भने,‘सहज परिस्थितिमा त जसले पनि प्रेम गर्न सक्छ, तर यो कथा त्यस्ता पात्रको हो, जसले असहज परिस्थितिमा पनि सहजताका साथ प्रेमलाई बचाउँछ।’ यसै फिल्मबाट निर्देशनमा डेब्यू गर्न लागेका श्रेष्ठमा हलिउडको प्रसिद्ध टेलिभिजन च्यानल एचबिओमा काम गरेको अनुभव छ।

प्रणव जोशी फिल्म ‘रेशम फिलिली’का निर्देशक हुन्, जो यस पटक ‘माया प्रीति’का क्रिएटिभ निर्देशकका रूपमा रहनेछन्। उनी एक कुशल एआइ कलाकार पनि हुन्। अभिनय यात्रामा थुप्रै हिट चलचित्रमा काम गरेकी लोकप्रिय अभिनेत्री निशा अधिकारी यस चलचित्रमा कार्यकारी निर्माताको रूपमा रहेकी छन्।

त्यस्तै, कार्यकारी निर्माताको रूपमा नै फोटोग्राफी र अभिनयको क्षेत्रमा परिचित सन्तोष कुमार कार्की रहेका छन्। ‘माया प्रीति’ मार्फत फिल्म निर्माण सुरु गरेको वन टू थ्री स्टुडियोजले आगामी दिनमा लगातार अन्य चलचित्र निर्माण गर्ने तयारी गरिरहेको छ।

Leave A Reply

Your email address will not be published.