सुचना, समाचार र मनोरन्जन
IVF New Banner

पर्यटन प्रवर्द्धन गर्न तीनदिने पदयात्रा गरिने

 

नेपाल–भारत सिमाना जोडिएको मेची नदीको मुहानबाट इलाम सदरमुकामस्थित निसान स्थापना गरिएको माईस्थान मन्दिरसम्मको ४१ किलोमिटर पदमार्गमा पदयात्रा गरिने रणशार्दूल गणका प्रमुख प्रल्हाद घलेले जानकारी दिए । तत्कालीन श्रीनाथ पल्टनले पूर्वको भूभाग विजय गरेर गाडेका निसान सुगौली सन्धिपछि फर्काएर राखिएका स्थानलाई जोडेर पदयात्रा तयारी गरिएको हो ।

Safal

आज बिहान मेची बजारबाट पदयात्राको औपचारिक थालनी हुनेछ । यही पुस २६ गतेसम्म नेपाली सेना, स्थानीय जनप्रतिनिधि, पर्यटन व्यवसायी र सरोकारवालाको टोलीले पदयात्रा गर्ने भएको उनले जानकारी दिए । पदयात्राका लागि स्थानीयले ठाउँठाउँमा स्वागतको तयारी गरेका छन् । पदमार्गअन्तर्गत पर्ने सूर्योदय नगरपालिका, माईजोगमाई गाउँपालिका र इलाम नगरपालिकाका विभिन्न स्थानमा पदयात्रीको स्वागतका लागि स्थानीय जातजातिको झाँकीसहित स्वागतका कार्यक्रम तय गरिएको प्रमुख घलेले बताए ।

रणशार्दूल गणको पहलमा गत वर्षदेखि निसान पदमार्ग पहिचान गर्न थालिएको थियो । त्यसका लागि सूर्योदय नगरपालिका, माईजोमगाई गाउँपालिका र इलाम नगरपालिकाले सहयोग गरेको थियो । पुस २४ मेची बजारबाट सुरु भएको पदयात्रा सूर्योदय नगरपालिकाको पूर्णेडाँडामा पुस २५ गते उद्घाटन गरी माईजोगमाईको नामसालिङस्थित हात्तीटारमा बास बस्ने कार्यक्रम छ।

यही पुस २६ गते बिहान नामसालिङबाट पुनः सुरु भएको पदयात्रा माईबेनी हुँदै अहिले निसान र तोप राखिएको इलाम नगरपालिका–७ स्थित माईस्थान मन्दिरमा पदयात्राको समापन गरिने कार्यक्रम तय भएको इलाम नगरप्रमुख केदार थापाले बताए । रणशार्दूल गणको अगुवाइमा तीन पालिकाले संयुक्त रूपमा आयोजना गरेको पदयात्रामा करिब एक सयको हाराहारीमा सहभागी हुने रणशार्दूल गणले जनाएको छ ।

IVF Post

नेपाल–अङ्ग्रेज युद्धपछि विसं १८७२ फागुन २० गते भएको सुगौली सन्धिपश्चात् तत्कालीन नेपाले सेनाले इलाम सदरमुकाममा निसान ल्याउन प्रयोग गरिएको मार्गलाई नेपाली सेनाको समन्वयमा तीन पालिकाले पहिचान गरी कार्यान्वयनमा ल्याएको हो ।

यसअघि भारतको नागरीगढीबाट नेपाल–भारत सीमाक्षेत्र सात माइल मेची मुहान, सिद्धीखोला, गैरीगाउँ, रम्फोक, नयाँचोक, जोगमाईखोला, हात्तीटार, माईबेनी, तिल्केनी हुँदै माईस्थान मन्दिरसम्मको जिआइएस नक्सा तयारी गरी सार्वजनिक गरिएको थियो ।

निसान पदमार्गको पदयात्राले इलामको पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने अपेक्षा गरिएको सूर्योदय नगरपालिका प्रमुख रणबहादुर राईले बताए । “करिब दुई सय वर्षअघिको युद्ध इतिहास खोजी गर्दै निसान पदमार्ग निर्माण गरिएको छ, यसको उद्घाटन गर्दै गरिएका पदयात्राले जिल्लाको समग्र पर्यटन प्रवर्द्धनमा योगदान गर्ने अपेक्षा छ”, उनले भने, “यसको प्रचारप्रसार भएपछि बाह्य पर्यटकसमेत यहाँ आउनेछन् ।”

इलाम नगरप्रमुख केदार थापाले निसान पदमार्ग पहिचानले इलामको ऐतिहासिक, धार्मिक, सांस्कृतिक सम्पदाको पहिचान, संरक्षण तथा प्रवर्द्धनमा सहयोग पुर्‍याएको बताए । “निसान पदमार्गले इतिहासको संरक्षणमा योगदान दिनका साथै समग्रमा इलामको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउनेछ”, उनले भने ।

सुगौली सन्धिपछि मिरिकस्थित नागरीगढीमा रहेको श्रीनाथ सिंह पल्टन अहिलेको इलाम सूर्योदय नगरपालिकाको करफोकस्थित पूर्णेडाँडामा आएर बसेको इतिहास छ । मेचीदेखि नागरीगढी हुँदै टिस्टासम्मको भू–भाग ४० दिनभित्र गढी खाली गर्न सम्झौता भयो । सम्झौता कार्यान्वयन गर्दै सुब्बा जयन्त खत्रीले नागरीगढी खाली गरी सदरमुकाम करफोक ल्याएका थिए ।

पूर्णेडाँडा भारतीय सीमा नजिक भएको र अङ्ग्रेजले जुनसुकै बेला आक्रमण गर्न सक्ने भएकाले मुकाम खडा गर्ने क्रममा माईजोगमाई गाउँपालिकाको नामसालिङस्थित हात्तीटार हुँदै श्रीनाथ सिंह पल्टन इलाम नगरपालिका–७ स्थित माईस्थान मन्दिर ल्याइएको थियो । माईस्थान मन्दिर विसं १८८० स्थापना भएको अनुमान छ । हाल निसान सोही मन्दिरमा संरक्षण गरी राखिएको छ ।

Leave A Reply

Your email address will not be published.