काठमाडौ :
निर्देशक तुलसी घिमिरेले आफ्नो फिल्म ‘पहाड’मार्फत छोरीलाई अभिनेत्रीमा डेब्यु गराउने भएका छन्। सात वर्षपछि फिल्ममा कमब्याक गर्न लागेका घिमिरेले छोरी पञ्चमीलाई अभिनेत्रीका रुपमा डेब्यु गराउन लागेका हुन्।
केहि साताबाट नै छायांकन सुरु गर्न लागिएको फिल्ममा पञ्चमीका साथमा अरुण क्षेत्री,मदनकृष्ण श्रेष्ठ, सुनील थापा, विपिन कार्की,वर्षा राउतको अभिनय रहने छ। यो फिल्ममा अरुण क्षेत्री र पञ्चमी घिमिरेको जोडी बाँधिने छ भने वर्षा र विपिनको रहने बुझिएको छ। अभिनेता अरुणको पहिलो फिल्म ‘महापुरुष’ हो। यो फिल्मबाट डेब्यु गरेका क्षेत्रीले ‘प्रेमा’ र ‘ज्याकी ः आइ एम ट्वान्टिवान’ फिल्ममा काम गरिसकेका छन्। पञ्चमी भने निर्देशक घिमिरेकी कान्छी छोरी हुन्।
यस फिल्ममा निर्देशक घिमिरेले जेठी छोरी भावनालाई फिल्म ‘पहाड’को प्रोडक्सन डिजाइनरको जिम्मेवारी दिएका छन्। निर्देशक घिमिरेले निर्माण गरेको पछिल्लो फिल्म ‘दर्पणछायाँ २’प्रदर्शनमा आएको थियो। निर्देशक घिमिरेले परिचयसँगको कुराकानीमा भने,‘अघिल्लो फिल्मले सिकाएको पाठ र नयाँ प्रविधिसँग घुलमिल हूँदा ७ वर्ष फिल्म बनाउन सकिएन। अब सिक्दै बनाउने हो।’