सुचना, समाचार र मनोरन्जन

अनलाईन स्क्याम गर्ने भारतीय नागरिक सहितको गिरोह पक्राउ

पोखरा,

एसिया तथा युरोपका विभिन्न देशमा भ्रमण गराइदिने भन्दै सर्वसाधारणलाई ठगी गर्ने गिरोहलाई कास्की प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार साउन ८ गते दिउँसो करिब २ बजे पोखरा महानगरपालिका–५, प्रस्याङस्थित पुष्पेन्द्र कोइरालाको घर भाडामा लिएर भारतीय नागरिकसहितका व्यक्तिहरूले विदेश भ्रमण गराइदिने नाममा ठगी गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको संयुक्त प्रहरी टोलीले छापा मारेको थियो।

प्रहरीले सप्तरीको कञ्चनपुर नगरपालिका–१२ निवासी २६ वर्षीय विवेक रेग्मी र भारतको कर्नाटक राज्य, महेश्वर जिल्ला, शान्तिनगर निवासी ३० वर्षीय मोहम्मद यासिरलाई घटनास्थलबाट विभिन्न सामग्रीसहित नियन्त्रणमा लिएको छ। उनीहरूमाथि थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेकाहरूले ‘ओएसिस टुरिजम इन्टरनेसनल’ नामक संस्था स्थापना गरी १५ जना युवायुवतीलाई परिचालन गर्दै अनलाइन तथा टेलिफोनमार्फत सर्वसाधारणलाई सम्पर्क गर्ने गरेको खुलेको छ। उनीहरूले ‘३ रात/४ दिनको होलिडे भौचर (Fill & Win, Register & Win Assured Gift)’ नामको कुपन भर्न लगाई एसिया तथा युरोपका विभिन्न देशको भ्रमण गराइदिने प्रलोभन देखाएर रकम उठाउने गरेको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार हालसम्म करिब ३० जना व्यक्तिबाट ९ लाख ६५ हजार रुपैयाँ ठगी गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। यस्तै, बेरोजगार १५ जना युवायुवतीलाई वैध रोजगारीको प्रलोभन देखाई उनीहरूलाई समेत यस प्रकारको अवैध गतिविधिमा संलग्न गराइएको प्रहरीले जनाएको छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.