सुचना, समाचार र मनोरन्जन

विपना थापाको अभिनयले ‘आ बाट आमा’ हेरेर रोए दर्शक

काठमाडौं :

सहिद दिवसको अवसर पारेर शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘आ बाट आमा’ले घरेलु बक्स अफिसमा उत्साहजनक व्यापार गरिरहेको छ। फिल्म हेरेपछि दर्शक हलबाट आँसु पुछ्दै बाहिर निस्किएको दृश्य नियमित देखिन थालेको छ। हल सञ्चालक र दर्शक प्रतिक्रियाअनुसार पछिल्लो समय हलमा हाँसोभन्दा बढी रुवाइको आवाज सुनिन थालेको छ।

दर्शकको यो भावनात्मक प्रतिक्रिया टिकट मूल्य वा अपेक्षाभन्दा फरक नतिजाका कारण नभई फिल्मको कथावस्तुले छोएकै कारण आएको बताइँदै आएको छ। कथा तथा पटकथा अत्यन्त बलियो नभए पनि आमाबाबु र सन्तानबीचको सम्बन्धले दर्शकलाई भावनात्मक रूपमा जोड्न सफल भएको विश्लेषण गरिएको छ।

फिल्मले आइतबारसम्म देशव्यापी रूपमा उत्साहजनक अकुपेन्सी कायम गरेको छ। सामाजिक सञ्जाल र हल प्रतिक्रियामा धेरै दर्शकले फिल्म हेर्दा आफ्नै आमा सम्झिएको प्रतिक्रिया दिएका छन्, जसले ‘वर्ड अफ माउथ’लाई थप बलियो बनाएको छ।

फिल्ममा प्रमुख भूमिका निर्वाह गरेका अभिनेता पल शाह र अभिनेत्री उषा उप्रेतीको अभिनय दर्शक प्रतिक्रियाको केन्द्रमा रहेको छ। पल शाहले ‘आ बाट आमा’मा कृष्ण पात्रको भूमिका नखेलेको भए जीवनभर पछुतो हुने प्रतिक्रिया दिएका छन्। सकारात्मक दर्शक प्रतिक्रिया आएपछि निर्देशकदेखि कलाकारसम्म उत्साहित देखिएका छन्।

द्वन्द्व निर्देशकका रूपमा परिचित चन्द्र पन्तको निर्देशनमा बनेको यस फिल्ममा पल शाह र उषा उप्रेतीसँगै विपना थापा, प्रदीप रावत, सिम्रन पन्त, साइग्रेस पोखरेल र रचना गौतमलगायत कलाकारहरूको अभिनय रहेको छ। फिल्मले आमाबाबु र सन्तानबीचको सम्बन्धलाई केन्द्रमा राख्दै वैदेशिक रोजगारी र त्रिकोणात्मक प्रेमकथालाई प्रस्तुत गरेको छ।

Leave A Reply

Your email address will not be published.