काठमाडौं :
सुशील श्रेष्ठ अभिनीत एक्सनप्रधान फिल्म ‘परिवर्तन’ले ३१ लाखभन्दा बढी ग्रस कलेक्सन गरेको छ। अघिल्लो साता शुक्रबारबाट प्रदर्शनमा आएको यस फिल्मले शनिबार रातिसम्म ३१ लाख ९ हजार ९ सय २५ रुपैयाँको व्यापार गरेको हो। यो नौ दिनको कमाइ हो।
विजय केरुङको निर्देशनमा निर्माण भएको यस फिल्ममा सुशील श्रेष्ठका अलावा अञ्जना बराइली, करिश्मा मानन्धर, सरोज खनाल, सुवास मेचे लगायतको अभिनय रहेको छ।
सोमबार चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्स अफिस विवरणअनुसार यस फिल्मका अलावा माघ १ गते अर्थात् माघे सङ्क्रान्तिमा प्रदर्शन भएका तीन फिल्म ‘मिरमिरे’, ‘भाइरल गोर्खे’ र ‘गोबर गणेश’को पनि बक्स अफिस विवरण सार्वजनिक गरिएको छ। ‘गोबर गणेश’ले माघ १७ गते शनिबारसम्म १ करोड ३६ लाख २० हजार ८३६ रुपैयाँ ग्रस कमाइ गरेको छ। यस फिल्मका ४८ हजार ५३ वटा टिकट बिक्री भएको देखिन्छ।
सोही दिनबाट प्रदर्शनमा आएका फिल्म ‘भाइरल गोर्खे’ र ‘मिरमिरे’को कमाइ भने ४० लाखभन्दा न्यून छ। नेपालकै सर्वाधिक व्यस्त र महँगा अभिनेताका रूपमा रहेका दयाहाङ राई र प्रकाश सपूतको मुख्य भूमिका रहेको फिल्म ‘मिरमिरे’का १० हजार ८८४ वटा टिकट बिक्री भएका छन्। यसबाट बक्स अफिसमा ३३ लाख ९३ हजार ७२५ रुपैयाँ ग्रस कलेक्सन भएको छ। यस फिल्मलाई यम शेर्पाले निर्देशन गरेका हुन् भने कलाकारमा दयाहाङ राई, प्रकाश सपूतका अलावा सिर्जना निङलेखुको पनि अभिनय रहेको छ।
सौगात मल्ल र सृष्टि श्रेष्ठ अभिनीत फिल्म ‘भाइरल गोर्खे’को कमाइ कमजोर देखिएको छ। यस फिल्मले १७ दिनमा ११ हजार २९८ वटा टिकट बिक्री गर्दै ३६ लाख १० हजार ९२५ रुपैयाँ ग्रस कमाइ गरेको छ। निगम श्रेष्ठ निर्देशित यस फिल्मको कमाइ अपेक्षाभन्दा न्यून रहेको छ।
सय दिन मनाउने तयारीमा रहेको फिल्म ‘परान’ले १७ करोड ८४ लाख ४७ हजार ५७६ रुपैयाँ ग्रस कमाइ गरेको छ। गत कात्तिक १४ गतेबाट प्रदर्शनमा आएको यस फिल्मले अझै पनि हल कब्जा गरिरहेको छ। दीपक आचार्य निर्देशित यस फिल्ममा नीर शाह, अञ्जना बराइली, महेश त्रिपाठी, केकी अधिकारी लगायतको मुख्य भूमिका रहेको छ।
गत पुस ४ गतेबाट हलमा लागेको फिल्म ‘झरीपछिको इन्द्रेणी’ले पनि १ करोड २८ लाख ५२ हजार ३१९ रुपैयाँ ग्रस कमाइ गरेको छ। हास्य टेलिश्रृंखलाका लेखक तथा निर्देशक अर्जुन घिमिरे (पाँडे)ले निर्देशन गरेको यस फिल्ममा दीपाश्री निरौला, गणेश उप्रेती, रमेश उप्रेती, निर्मल शर्मा लगायतको अभिनय रहेको छ।