सुचना, समाचार र मनोरन्जन

पर्यटनको अपार सम्भावना बोकेको पञ्चासे, पूर्वाधार अभावले ओझेलमा

पोखरा,

पर्यटकीय राजधानी पोखराबाट करिब १६ किलोमिटरको दूरीमा रहेको पञ्चासे प्राकृतिक सौन्दर्य, जैविक विविधता र धार्मिक महत्वका कारण देशकै आकर्षक गन्तव्यमध्ये एक हो। पोखरा महानगरपालिका–२३ मा पर्ने यो क्षेत्र कास्की, स्याङ्जा र पर्वत जिल्लाको संगमस्थलमा अवस्थित छ।

पञ्चासे पुग्ने जो–कोहीलाई यहाँबाट अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरि, लमजुङ र गणेश हिमालको मनमोहक दृश्यले मोहित बनाउँछ। विभिन्न प्रजातिका सुनाखरी (सुनगाभा), दुर्लभ जडीबुटी तथा कालो भालुजस्ता वन्यजन्तुको बासस्थानका रूपमा समेत पञ्चासे परिचित छ। प्राकृतिक सम्पदासँगै धार्मिक आस्थाको केन्द्र भएकाले यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दो छ।

पोखराबाट घाँटीछिना वा सिदाने हुँदै पञ्चासे पुग्न सकिन्छ। तर पर्यटकीय सम्भावना अत्यन्तै उच्च भए पनि आवश्यक पूर्वाधारको अभावले यस क्षेत्रको विकासले अपेक्षित गति लिन सकेको छैन।

महानगरपालिकाको सबैभन्दा विकट मानिने वडा नम्बर २३ को माथिल्लो सिदानेमा रहेको फेमिली होमस्टे नै यस क्षेत्रको एकमात्र होमस्टे हो। होमस्टेका सञ्चालक होमनाथ पौडेलले पर्यटकलाई स्थानीय संस्कृति, परिकार र ग्रामीण जीवनशैलीको अनुभव गराउँदै आएका छन्। तर पर्याप्त प्रचारप्रसार, सहज यातायात र सञ्चार सुविधाको अभावले पर्यटकको बसाइ लम्ब्याउन कठिन भएको उनी बताउँछन्।

यस क्षेत्रमा अझै भरपर्दो इन्टरनेट सेवा पुगेको छैन। डिजिटल युगमा सञ्चार सुविधा नहुँदा होमस्टे सञ्चालनदेखि पर्यटकसँग सम्पर्क राख्नसम्म समस्या हुने गरेको छ। त्यसमाथि वर्षायाममा सडक हिलाम्मे हुने र सवारीसाधन सञ्चालन गर्न कठिन हुने भएकाले पर्यटकको आगमनसमेत प्रभावित हुने गरेको स्थानीयको गुनासो छ।

स्थानीयवासीका अनुसार सडक स्तरोन्नति, नियमित यातायात, इन्टरनेट सेवा र पर्यटकीय पूर्वाधार विस्तार गर्न सके पञ्चासे पोखराको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा अझ सशक्त रूपमा स्थापित हुन सक्छ।

प्राकृतिक सम्पदा, हिमाली दृश्य, जैविक विविधता र ग्रामीण आतिथ्यताको अनुपम संगम बनेको पञ्चासेले पर्याप्त पूर्वाधारको प्रतीक्षा गरिरहेको छ। सम्बन्धित निकायको ध्यान पुग्न सके यो क्षेत्रले स्थानीयको आयआर्जन बढाउनुका साथै पोखराको पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण योगदान पुर्‍याउने निश्चित देखिन्छ।

Leave A Reply

Your email address will not be published.