काठमाडौं :
बैशाख ११ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘परालको आगो’ यतिबेला चर्चामा छ। यस फिल्मका गीत तथा ट्रेलर र मेकिङका कारण दर्शकमाझ चर्चा बढेको हो। साथै, यसमा अभिनेत्री सुहाना थापा, सौगात मल्ल र प्रकाश सपुतको कडा अभिनय देख्न सकिन्छ।
अघिल्ला फिल्महरूको तुलनामा सुहानाको बिल्कुलै फरक अभिनय देखिएको छ। त्यसैले पनि निर्माण पक्ष आफ्नो कामप्रति निकै उत्साहित देखिन्छ। फिल्मका निर्माता सुशील पोखरेलले आफूले निर्माण गरेको यो फिल्मले दर्शकमाझ विशेष छाप छोड्न सक्ने विश्वास व्यक्त गरेका छन्।
उनी भन्छन्, “मैले धेरै फिल्म निर्माण गरेको छु। ती सबैसँग तुलना गर्दा यो फिल्म हेरेपछि दर्शकमाझ छुट्टै छाप बस्छ भन्नेमा म ढुक्क छु।”
निर्माता पोखरेल मात्र होइन, निर्देशक लक्ष्मण सुनार पनि उत्तिकै विश्वस्त छन्। यस फिल्ममा निर्देशक र निर्माताले प्रस्तुत गरेको नयाँ मेकिङ स्टाइलले दर्शकमाझ उत्सुकता अझ बढाएको टिजर र गीतमार्फत देख्न सकिन्छ।
निर्माता पोखरेल भन्छन्, “यो फिल्म केवल कथा मात्र होइन, प्रस्तुतीकरणका हिसाबले पनि फरक र विशेष अनुभव दिनेछ।”
अझ रोचक पक्ष के छ भने, यस फिल्ममा संलग्न सबै कलाकारहरूले पहिलो पटक सँगै स्क्रिन शेयर गरेका छन्। उनीहरूले यसअघि कुनै पनि फिल्ममा सहकार्य गरेका छैनन्। त्यसैले पर्दामा देखिने उनीहरूको केमेस्ट्री ताजा, प्राकृतिक र मन छुने खालको हुने अपेक्षा गरिएको छ।
यस फिल्मका लेखक सुशील देवकोटाले आफूले लेखेको कथाभन्दा फरक ढंगले फिल्म निर्माण भएको बताएका छन्। उनी भन्छन्, “‘परालको आगो’ केवल एउटा फिल्म होइन, नयाँ प्रयोग, नयाँ ऊर्जा र नयाँ अनुभूतिको संगम हो, जुन दर्शकहरूले अवश्य हेर्नु पर्नेछ।”
गुरु प्रसाद मैनालीको ‘परालको आगो’ अमर कृति कथा आफैंमा बुलन्द छ। सोही कथामा आधारित भएर ‘बुलाकी’ जस्तो समीक्षात्मक रूपमा अब्बल फिल्म निर्देशन गरिसकेका लक्ष्मण सुनारको काम यसमा पनि प्रभावशाली हुने अपेक्षा गरिएको छ। 
यता, कमर्शियल रूपमा सफल निर्माता सुशील पोखरेल जुनसुकै कथामा फिल्म निर्माण गर्दैनन्। उनले लगानी गरेका अधिकांश फिल्म सफल छन्। उनले ‘परदेशी’, ‘मैदान’, ‘जीवनदाता’, ‘जय शिव शंकर’, ‘निगरानी’, ‘बडीगार्ड’, ‘लभ सब’ र ‘राधे’ लगायतका फिल्ममा लगानी गरेका छन्, जुन दर्शकमाझ आज पनि स्मरणीय छन्। यसै कारण पनि ‘परालको आगो’ प्रति पछिल्लो समय दर्शकमाझ व्यापक चासो र कौतुहलता देखिएको छ।