सुचना, समाचार र मनोरन्जन

पोस्टर विश्लेषण: ‘एक मुठ्ठी बादल’ भित्र लुकेको अनकही सम्बन्धको कथा

काठमाडौं :

चलचित्र ‘एक मुठ्ठी बादल: My Share of Sky’ले आफ्नो आधिकारिक पोस्टर सार्वजनिक गरेको छ। पोस्टरले चलचित्रमा रहेका सम्पूर्ण कलाकारलाई चिनाउँदै कथा पारिवारिक परिवेशमा केन्द्रित रहेको संकेत गर्दछ।

सार्वजनिक पोस्टरको केन्द्रमा अभिनेत्री आँचल शर्मा रहेकी छन्। उनको वरिपरि परिवारका सदस्यहरू बसेका छन्। घरभित्र सजिएको अवस्थाले उनीहरू कसैलाई स्वागत गर्न प्रतीक्षारत रहेको देखाउँछ। पोस्टरले पाहुना आउनुअघि परिवारका सदस्यहरू तयार भएर बसेको क्षणलाई चित्रण गरेको छ।

पोस्टरको अग्रभागमा वरिष्ठ कलाकार निशा शर्मा र शेखर चापागाईं छन् भने पछाडि सहयोग अधिकारी, गौरव विष्ट र अस्मिता गौतम उभिएका छन्। उनीहरूको उपस्थितिले उनीहरू परिवारको सदस्य नभएको संकेत गर्दछ।

त्यसैगरी भीमा मैनाली, उषा रजक, मनिष निरौला र अविरल प्रताप अधिकारीले परिवारको स्वरूप प्रस्तुत गरेका छन्, जहाँ सम्बन्ध नजिक भए पनि धेरै कुरा नबोली राखिएको संकेत पोस्टरले दिन्छ।

अर्को सार्वजनिक पोस्टरमा भने निशा शर्मा, आँचल शर्मा र उषा रजकलाई मात्र स्थान दिइएको छ। यसमा आँचललाई केन्द्रमा राखिएको छ भने निशा र उषाका दृष्टि उनीतर्फ केन्द्रित छन्, जसले तीन महिलाबीचको सम्बन्धलाई संकेत गर्छ।

चलचित्र सहारा शर्माको लेखन तथा निर्देशनमा निर्माण भएको हो। मुख्य निर्माता अभिमन्यु दीक्षित हुन् भने सह–निर्मातामा सारा फाजिलात, सामीप्य राज तिमल्सेना र अनुप पौडेल रहेका छन्। कार्यकारी निर्माता निकुन श्रेष्ठ हुन्।

छायांकन लिन्ह डान गुयेन फानले गरेका छन्। प्रोडक्सन डिजाइन यशस्वी सभरवाल, सम्पादन गौरव कुमार मल्लिक, सम्पादन सल्लाहकार दीपा भाटिया, भेषभूषा जानकी कडायत, मेकअप कीर्ति जोशी, कला निर्देशन अग्रणी ठकुरी झा तथा पोस्ट–प्रोडक्सन सुपरभिजन आश्मा गौतमले सम्हालेका छन्।

गौथली इन्टरटेनमेन्ट, मन प्रोडक्सन, थर्ड कल्चर किड्स र क्रोमोजोम फिल्मको सह–निर्माणमा बनेको यो चलचित्र आगामी जेठ १ गते (मे १५) बाट देशभर प्रदर्शनमा आउनेछ। वितरण आरआर फिल्म्सले गर्नेछ।

Leave A Reply

Your email address will not be published.